अबको तीन महिनाभित्र सबैले स्मार्ट लाइसेन्स पाउने

काठमाडौँ – सरकारले पुरानो कागजी सवारी चालक अनुमति पत्र(लाइसेन्स)लाई विस्थापित गर्दै स्मार्ट लाइसेन्स वितरण गरेपनि अझै पाँच लाख भन्दा बढी लाइसेन्स छाप्न सकेको छैन्।

साना तथा ठूला सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको यातायात व्यवस्था विभागले पछिल्लो १३ महिनादेखि स्मार्ट लाइसेन्स छाप्न नसक्दा पाँच लाख भन्दा बढी मानिसले लाइसेन्स पाउन सकेका छैनन् ।

लाइसेन्स छाप्ने मेशिन बिग्रिएपछि काठमाडौँमा नौ महिना र उपत्यका बाहिर १३ महिनादेखि स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसकिएको विभागका सूचना अधिकारी तीर्थराज खनाल बताउँछन् ।

हाकाहाकीसँग कुरा गर्दै उनले नविकरण र नयाँ लाइसेन्स, वर्ग थप, प्रतिलिपी गरी पाँच लाख भन्दा बढी प्रिन्ट हुन बाँकी रहेको बताए ।

सवारी चालक अनुमतिपत्रका लागि दैनिक ८ देखि ९ हजारसम्मको माग आउने गरेपनि मेशिन नहुँदा एउटा पनि प्रिन्ट गर्न नसकिएको उनको भनाइ छ । ‘साना तथा ठूला सवारी चालक अनुमति पत्रका लागि दैनिक ८ देखि ९ हजारसम्मको माग आउँछ,’ उनले भने, मेशिन बिग्रेको छ त्यसैले एउटा पनि छाप्न सकिएको छैन् ।’

भोली(बुधबार)बाट नयाँ मेशिन सञ्चालनमा
पहिले सञ्चालनमा रहेको मेशिन बिग्रेको १३ महिनापछि सरकारले प्रति घण्टा ४५० वटा लाइसेन्स छाप्ने क्षमताको नयाँ प्रिन्टिङ्ग मेशिन ल्याएको छ। उक्त मेशिन भोली(बुधबार)देखि सञ्चालनामा ल्याइने विभागका सूचना अधिकारी खनालले जानकारी दिए ।

उक्त मेशिन सञ्चालनसँगै छाप्न बाँकी लाइसेन्सहरू केही महिनामै प्रिन्ट गरिने उनको दाबी छ । ‘भोलीबाट हामी प्रतिघण्टा ४५० वटा लाइसेन्स प्रिन्ट गर्दैछौँ, यसको हिसाबले अबको दुई देखि तीन महिनामै सबै लाइसेन्स छापिसक्छौँ,’ उनले भने। सरकारले २०७२ पुष ३ गते बाट स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार