बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला – अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महिनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन्।

यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ। मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ।

सङ्कलन गरिएको तीन महिना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन। मूल्य निर्धारण नभएर बिक्री हुन नसक्दा यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा त्यतिकै थन्किएको छ। तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुन सकेको छैन्, स्थानीयवासी उमेश बोहराले भने, “ यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सङ्कलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् ।” यार्सागुम्बाको बजार मूल्य नतोकिनु र मूल्य गिरावट आउँदा सङ्कलकहरु निराश भएका छन् । विगतमा यार्सागूम्बाको सिजनपछि स्थानीयवासीको खण्डेश्वरी बजारमा चहलपहल बढ्थ्यो । तर यो पटक भने खण्डेश्वरी बजार सुनसान जस्तै छ ।

यार्सागुम्बा बिक्री नहुँदा बजारमा चहलपहल बढेको छैन् । यार्सागुम्बा सङ्कलन अघि जति उत्साहका साथ सङ्कलक लेक गएका थिए, तर बिक्री नहुँदा उनीहरुमा अहिले त्यतिकै निराशामा छाएको छ। बिक्री नहुँदा अधिकांश स्थानीयवासीले यार्सागुम्बा सङ्कलनको लागि लिएको ऋण तिर्न सकेका छैनन्। विगतमा यार्सागुम्बा सङ्कलनको लागि व्यापारीले ऋण लगानी गर्थे। अहिले तिनै व्यापारी यार्सागुम्बाको बजार भाउ नभएको भन्दै समस्यामा परेको बताउँछन्।

केही व्यापारीले स्थानीय सङ्लनबाट यार्सागुम्बा सङ्कलन गरे पनि दर रेट तोकेका छैनन्। सङ्लकहरुले विगतको जस्तो यार्सागुम्बाको मूल्य नपाउँदा बिक्री समेत गर्न मानेका छैनन्। सङ्कलन गरेको तीन महीना वितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धाण नहुँदा यार्सागुम्बा थन्किएको छ। गाउँदेखि शहर बजारसम्मै यार्सागुम्बा बिक्री नहुँदा विगतको जस्तो व्यापार व्यवसायसमेत चलेको छैन्। बजार पूरै आर्थिक मन्दीमा गइरहेको बोहराले बताए।

लामो समयसम्म यार्सा सङ्कलकहरुको घरमा यर्सागुम्बा थन्किएपछि यार्सागुम्बा सड्ने अवस्थामा पुगेको ब्यास गाउँपालिकाका सङ्कलक धीरेन्द्रसिंह धामीले बताए। सबैलाई यार्सागुम्बा सुरक्षित राख्ने तरिका जानकारी नहुँदा सड्ने अवस्थामा पुगेको हो।

व्यासकै स्थानीयवासी दानसिंह कार्की व्यापारीले मूल्य निर्धारण नगरेरै यार्सागुम्बा बिक्री गरेको बताए। घरमै यार्सागुम्बा सडाउनुभन्दा व्यापारीलाई यार्सागुम्बा दिएका छौँ, उनले भने, “ व्यापारीले बिक्रीका लागि काठमाडौँ लगेका छन्। मूल्य छैन भन्छन्। अहिलेसम्म यार्सागुम्बाको कति मूल्य निर्धारण हुने हो भन्ने बारे जानकारी आएको छैन् ।”

गत वर्षसम्म प्रतिकेजी रु १७ लाखदेखि २० लाखसम्म खरीदबिक्री भएको यार्सागुम्बा यो पटक भने बिक्री हुन पाएको छैन्। केही व्यापारीको गत वर्षकै यार्सागुम्बा बिक्री हुन बाँकी रहेको छ।

व्यापारी गणेश बडु यार्सागुम्बाको मूल्य नभएको कारण अधिकांश व्यापारीले यो वर्ष यार्सागुम्बामा लगानी नगरेको बताउँछन्। “सङ्कलकबाट उठाउन पनि सकिएको छैन”, उनले भने, “मूल्य नै थाहा नपाइएको अवस्थामा यार्सागुम्बा खरीद गरेर काम छैन् । यार्सागुम्बा खरीद बिक्री नभएको कारण बजारमा समेत चहलपहल बढेको छैन्।”

यो यार्सागुम्बाको कारोबार हुने समय हो। व्यापारी र सर्वसाधारणको बजारमा चहलपहल हुने बेला सुनसान छ। “यार्सागुम्बाको चीनमा समेत मूल्य नभएको कारण बिक्री हुन नसकेको यार्सा व्यापारी धनसिंह जागरीको भनाइ छ। “मोटो यार्सागुम्बाको रु सात आठ लाख प्रतिकिलो भन्छन्”, उनले भने, “सामान्य यार्सागुम्बा पनि प्रतिकिलो रु तीन चार लाखमा बिक्री हुने अवस्था छैन्।” यार्सागुम्बाको मूल्यमा आएको ह्रासका कारण गाउँमै यार्सागुम्बा थन्किएको उनले बताए।

यो वर्षसम्म जिल्लाबाट यार्सागुम्बा छोडपूर्जी जारी भइसक्नुपर्नेमा हालसम्म ४० किलोग्राम यार्सागुम्बाको मात्र छोडपूर्जी जारी गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरले जानकारी दिए।

यो वर्ष यार्सागुम्बाको मूल्य नहुँदा व्यापारीलेसमेत यार्सागुम्बा लिन मानेका छैनन्। विगतमा हरेक वर्ष अपि नाम्पा संरक्षण क्षेत्रबाट छुट पूर्जी जारी भएर छ देखि आठ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको थियो। दार्चुलाको अपि हिमाल, मार्मा, नौगाड र ब्यास गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा खोज्ने गर्छन्। यार्सागुम्बा सङ्कलनको लागि हरेक वर्ष जिल्लाका पाटनमा पाँचदेखि १० हजार सङ्कलक जाने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ।

जिल्लाको अपि हिमालको लोलु, रोखापु, सात गङ्गा चाइमटेला, धरमघर, काटै, क्षत्ति, ब्यासको अपिफेद, दूधीवनलगायतका दर्जन बढी ठाउँमा यार्सागुम्बा पाइने गर्छ। यार्सागुम्बा सङ्कलनको लागि यहाँका विद्यालयसमेत एक महीनाका लागि बन्द हुनेगर्छ। नरेन्द्रसिंह कार्की /रासस

ताजा समाचार

सम्बन्धित समाचार