काठमाडौँ – पछिल्लो पाँच महिनामा प्राकृतिक विपदमा परी मुत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी २७१ जनाको ज्यान जानुका साथै ६सय४६ घाइते तथा ७६७ व्यक्ति विस्थापित भएका छन् ।
घटनामा परी एक हजार ६३ चौपाया मरेका छन्। चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महिनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिए। पाँच महिनाको अवधिमा १५ पुल, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपद्मा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिए। नेपाल प्रहरीले विसं २०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ।





