त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनःस्थापना

काठमाडौँ– पुनःनिर्माण भइरहेको काठमाडौँको त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनःस्थापना गरिएको छ । गजुर पुनःस्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुललगायतले सोमबार मन्दिरको अवलोकन गरेका छन्।

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलको काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्ट्स्अन्तर्गत सङ्गीत विभागले पुनःनिर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । विभागका सहायक प्राध्यापक एवं पुनःनिर्माणका संयोजक डा लोचन रिजालले मन्दिरको करीब ८० प्रतिशत र समग्र गुरुयोजनाको करीब ३५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पूजारी घर, मन्दिर परिसरको बगैँचा र पोखरीलाई पुनःनिर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा सो मन्दिर निर्माण गर्न लगाएका थिए।

रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनःनिर्माण जारी छ । प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनःनिर्माण गरिँदैछ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार