डोटी–डोटीको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।
बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
भालुको आक्रमणबाट साउदको कान, नाक, घाटी, टाउको र हातमा गम्भीर चोट लागेको छ। भालुको आक्रमणमा परी गम्भीर घाइते भएका साउदलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको बताइएको छ। डोटीमा जङ्गली भालुको आक्रमणमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने करीब २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट वर्षेनी जङ्गली भालुलगायतका अन्य जनावरहरु गाउँघरमा आहारको खोजी गर्दै आउने र स्थानीयवासीलाई आक्रमण गर्ने गरेको बताइएको छ ।





