काठमाडौँ–काठमाडौँ महानगरपालिका–६ डाडागाउँकी ४० वर्षीय सुशीला तामाङको साँझ बिहान फूलको स्याहारसुसारमा बित्छ। फूलका बिउ उत्पादनदेखि सिजन अनुसारका फूल लगाउने काममा सुशीला व्यस्त हुन्छिन्। उनले विगत २४ वर्षदेखि डाडागाउँमा व्यावसायिक रुपमा फूल खेती गर्दै आएकी छिन्।
उनको यो पुर्खौली पेशा हो। उनका बुबाआमाले पहिलादेखि नै फूलबाट आम्दानी गर्दै आएका थिए। उनले पनि त्यही पेशालाई निरन्तरता दिएको बताउँछिन्।

‘हाम्रा आमाबुबाले पनि फूलको खेती गर्दै आउनु भएको छ। हामीले फूलको बिउ पनि आफैँ उमार्ने र सिजन अनुसारका फूलहरू लगाउने गर्छौ,’ उनले भनिन्।
विवाह, व्रतबन्ध,चाडपर्व तथा धार्मिक कार्यका लागि फूलको माग पहिलाको तुलना अहिले बढ्दो रहेको उनले बताइन्। ‘पहिला बढी कृत्रिम फूलहरू बजारमा बढी माग हुन्थ्यो। त्यसमा भारतीय फूलहरूले हाम्रो बजार लिन्थे। अहिले यहाँ उत्पादन गरेको फूलहरूको माग राम्रो छ,’ सुशीलाले भनिन्।

उनको बारीमा बाह्रै महिला फूल उत्पादन हुन्छ। एक सिजनमा फूल विक्री गरेपछि दुई देखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाई छ।
त्यस्तै पछिल्ला वर्षहरूमा शहर बजारमा फूलको माग बढ्दै गएको ६० वर्षीय चुनमती तामाङ बताउँछिन्। ‘पहिलादेखि नै हाम्रो पेशा फूलखेती हो। पहिलाको तुलनामा आम्दानीसँगै फूलको माग पनि बढेको छ,’उनले भनिन्।
यहाँका प्राय हरेक घरपरिवारले फूल खेती गरेका छन्। तामाङ समुदायका बाहुल्यता रहेको यस ठाउँका मानिसहरूको रोजीरोटी नै फूल बिक्री गरेर चल्छ।
चुनमतीले पनि दुई रोपनीमा फूल खेती गरेकी छिन्। उनीहरूले अहिले दशैँ तथा तिहारका लागि सयपत्री र सुपारी फूल हुर्काउन व्यस्त छन्।
उनीहरूले उत्पादन गरेका फूलहरू उनीहरू आफैँ बेच्छन् भने अरू फूल व्यापारीहरूलाई पनि बेच्ने गरेका छन्। उनीहरू फूल बेच्नका लागि गौशाला तथा पाटन जाने गरेको सुनाउँछन्।

त्यसै गरी डाडागाउँकै फूलमाया तामाङले पनि विगत लामो समयदेखि दुई रोपनी जमिनमा फूल खेती गर्दै आएको बताउँछिन्।
‘बिउ किन्नु पर्दैन। हामीले सिजनअनुसारका बिउ आफैँ उत्पादन गर्छौँ। बिक्री पनि आफैँ गर्छौँ त्यसैले आम्दानी पनि राम्रो हुन्छ,’उनले भनिन्। उनले पनि सिजनमा दुईदेखि तीन लाखसम्म आम्दानी हुने गरेको बताउँछिन्।
उनीहरूले सयपत्री, सुपारी, लाहुरे, सूर्यमुखी, मखमली र गोदावरी लगायतका फूलहरू लगाउँदै आएका छन्। फ्लोरिकल्चर एशोसिएशन नेपालका अनुसार हाल नेपालमा ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसायीहरू १ सय ५५ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आएका छन्। यसबाट ४३ हजार पाँच सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी एशोसिएसनले जनाएको छ।
नेपालमा पहिचान भएको करिब ५ हजार ५ सय प्रजातिका फूल फुल्ने बिरुवाहरू रहेको तथ्याङ्क छ। जसमा ३ सय २४ प्रजातिहरू अन्य मुलुकहरूमा पाइँदैन। विश्वभर हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढी यस्ता बिरुवाहरूको तुलनामा यो सङ्ख्या २.२ प्रतिशत हुन आउँछ।





