Monday, September 23, 2024

कर्णालीमा ४५ डल्फिन, संरक्षण गर्न महोत्सव

धनगढी– यो वर्ष कर्णाली नदी तथा यसका सहायक नदीमा ४५ वटा डल्फिन देखिएका छन्।

डल्फिन संरक्षण उपकेन्द्र बैदीका उपाध्यक्ष भोजराज ढंगानाले कर्णाली,मोहना, पथरैया काँढा नदीमा यो वर्ष १२ वटा डल्फिनका बच्चासहित ४५ डल्फिनको गणना गरिएको बताए।

गत वर्ष त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मुकेशकुमार चालिसेसहितको टोलीले डल्फिनको गणना गर्दा मोहना, काँढा, कान्द्रा र पथरैयाका विभिन्न स्थानमा १२ वटा डल्फिनका बच्चासहित ५० देखि ५४ वटा डल्फिन देखिएका थिए।

त्यस्तै प्राध्यापक डा.चालिसेसहितको टोलीले २०७२ मा पनि डल्फिनको गणना गरेको थियो। गणना गर्दा मोहना, काँढा, कान्द्रा र पथरैयाका विभिन्न स्थानमा ६२ देखि ८० वटा डल्फिन देखिएका थिए।

राष्ट्रिय संरक्षण कोष बर्दियामा कार्यरत डा. शान्तराज ज्ञवालीको नेतृत्वमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन गोपालप्रसाद उपाध्याय र सेनाका मेजर बाबुकृष्ण कार्कीसहितको टोलीले २०५८ सालमा कर्णाली नदीमा डल्फिन रहेको पत्ता लगाएका थिए।

डल्फिन महोत्सव सुरु
शनिवारदेखि कैलालीको टिकापुरमा चौथो डल्फिन महोत्सव सुरु भएको छ। महोत्सव होटेल व्यवसायी सघं,डल्फिन संरक्षण केन्द र उपकेन्द्र बैदिको संयुक्त आयोजनामा गरिएको हो।

कैलालीको कान्द्रा, पथरैया, काँडा र मोहना नदीमा जल सतह बढेका बेला देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ।

यस अघि २०६३,२०६६ र २०७५ सालमा डल्फिन महोत्सव गरिएको थियो।

कैलालीमा डल्फिन संरक्षणका लागि करिब दुई दशकदेखि स्थानीय स्तरबाट प्रयास भैरहेको छ।
प्रत्येक वर्ष बर्खायाममा कर्णाली, मोहना,काँडा,कान्द्रा र पथरैया नदीमा ग्याँगेटिक प्रजातिका डल्फिन देखिने गरेको छ।

यो डल्फिन कर्णाली नदी र भारतको घाँघरा नदीका हुन्। ढुंगानाका उनका अनुसार मोहना, काँढा, कान्द्रा र पथरैया नदीमा बर्खायाममा मात्र देखिने डल्फिन कर्णाली नदी र भारतको घाँघरा नदीका हुन्।

नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने गंगेटिक प्रजातीका डल्फिन सफा पानीमा बस्न रुचाउँछन्।
डल्फिन पृथ्वीमा रहेका केही धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। उसको सधैँ खुसी रहन बानी र मानिससँगको मित्रवत व्यवहारले यो मानिसको प्रिय जीवको रूपमा परिचित छ।

गंगा नदीमा पाइने डल्फिनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ। डल्फिनलाई नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीको अनुसूचीमा समावेश गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार