सिसडोलको ‘भद्रगोल’ बारे संसदले महानगरलाई सोध्ने

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको सिसडोल अव्यवस्थित भएको भन्दै स्थानीयले फोहोर फाल्न नदिने भनेपछि संसदको विकास तथा प्रविधि समितिले काठमाडौँ महानगरलगायत सरोकारवालासँग जवाफ माग गर्ने भएको छ।

सोमबार सिसडोल तथा बञ्चरे डाँडाको अनुगमन गर्ने क्रममा स्थानीयले त्यहाँको समस्या तत्काल समाधान नगरे असोज १ गतेदेखि फोहोर फाल्न नदिने बताएपछि महानगरलगायत अन्य सरोकारवालासँग जवाफ माग्न लागिएको समितिकी सभापति कल्याणी कुमारी खड्काले बताइन्।

‘सिसडोलमा जबरजस्ती पेलेर फोहोर फालिँदै आएकाले त्यहाँका स्थानीय अस्वस्थ भएको तथा विभिन्न समस्याबाट आक्रान्त बनेको पाइयाे त्यसैले सरोकारवालासँग  जवाफ माग गर्ने तयारीमा छाैँ,’ उनले भनिन्।

अनुगमनका क्रममा उक्त स्थानमा काठमाडौँबाट लगिने फोहोर भद्रगोल तवरले फ्याँक्ने गरिएको, त्यहाँबाट निस्केका लिचड सिधै कोल्पु खोलामा मिसाइएको पाइएको उनको भनाइ छ । यसले गर्दा कोल्पु खोला दूषित भएको उनको दाबी छ।

दुई वर्षका लागि भनेर काठमाडौँ उपत्यकाको फोहोर सिसडोलमा फाल्न शुरु गरिएपनि १४ वर्षसम्म अव्यवस्थित तवरले त्यहीँ विसर्जन गर्नाले वरपरको वातावरणसँगै नजिकै रहेको कोल्पु खोलालाई समेत दूषित उनको धारणा छ।

यसका साथै महानगर र स्थानीयवासीबीच भएको सहमति अनुसार कुनैपनि कार्य नभएको उनी बताउँछिन्। ‘काठमाडौँको फोहोर त्यहाँ लगेर भद्रगोल तरिकाले फालिएको रहेछ, न त फोहोरलाई माटोले छोपिएको छ, न त दुर्गन्ध कम गर्ने औषधि नै हालिएको छ,’ उनले भनिन्, ‘स्थानीयवासीसँग काठमाडौँ महानगरले गरेको विभिन्न सहमति पनि कार्यान्वयन नभएको पाइयो।’

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि भन्दै सरकारले २०६२ सालमा सिसडोलमा ल्यान्डफिल साइट बनाएर २ वर्षपछि बन्चरे डाँडामा सार्ने गरी स्थानीयसँग सम्झौता गरेको थियो । तर, १४ वर्ष वितिसक्दा पनि सोही स्थानमा फोहोर विसर्जन गरिँदै आएको छ।

नुवाकोटको ककनी गाउँपालिकामा रहेको सिसडोलमा अहिले दैनिक सात सय टन फोहोर फालिँदै आइएको छ। यसले गर्दा ककंनी गाउँपालिका २, धादिङको धुनिबेसी नगरपालिका १ र काठमाडौको तारकेश्वर नगरपालिका ३ वासी प्रभावित भइरहेका छन् । सिसडोलमा क्षमता भन्दा बढी फोहोर फालिएपछि बर्सेनी फोहोरको पहिरो जाने लगायतका समस्या देखिँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार