सरकारी अनुदानसँगै सुदूरपश्चिममा बढ्यो माछा पालनमा आकर्षण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका किसानमा व्यवसायिक माछा पालनतर्फ आकर्षण बढ्दै गएको छ। सरकारी अनुदान र प्राविधिक सहयोगका कारण किसानमा व्यावसायिक माछापालनतर्फ आकर्षण बढेको हो।

पछिल्लो समय किसानमा माछापलनसँगै प्राविधिक ज्ञानको स्तर बढ्दै गएको छ। सानो क्षेत्रफलमा माछा पालन गर्दै आएका किसानहरू प्राविधिक ज्ञानका कारण अहिले माछापालन विस्तार गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा प्राकृतिक र मानव निर्मित तालमा माछा पालन गरिन्छ भने बाँकी ७ जिल्लामा नदी तथा खोला र केही मात्रामा मानव निर्मित तालमा माछा पालन गरिन्छ। कैलाली र कञ्चनपुर जिल्लामा ग्रासकार्प, रौ, नैनी, सिल्भरकार्प र विगेतकार्प जातका माछा बढी पालन गरिएको मत्स्य विकास केन्द्र गेटा कैलालीका वरिष्ठ मत्स्य विकास अधिकृत निर्मल खाती बताउँछन् । उनका अनुसार पछिल्लो समय कैलाली र कञ्चनपुरमा व्यवसायिक माछा पालनतर्फ किसानको आकर्षण बढेको छ। ‘कैलाली र कञ्चनपुर जिल्लामा माछापालन व्यावसाय फष्टाउँदै गएको छ,’उनले भने, ‘सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानले पनि पछिल्लो समय माछापालन व्यावसायलाई विस्तार गर्दै गएका छन्।’

कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्राकृतिक तालमा किसानले समूह बनाएर माछापालन गर्ने गरेको उनको भनाई छ। मत्स्य विकास केन्द्र गेटाका अनुसार कैलाली र कञ्चनपुर जिल्लामा १ हजार ५० जना किसानले १ हजार ७ सय ५० हेक्टर जग्गामा पोखरी निर्माण गरी माछा पालन गरिरहेका छन् । त्यहाँ १ हजार ३ सय हेक्टर प्राकृतिक र २ सय ५० हेक्टर कृत्रिम तालमा माछा पालन गरिएको छ ।

प्राकृतिक तालमा प्रति हेक्टर १ मेट्रिक टन माछा उत्पादन हुन्छ भने कृत्रिम तालमा प्रति हेक्टर ३ मेट्रिक टन माछा उत्पादन हुन्छ। ‘माछा पालनमा कम कामदार, थोरै लगानीबाट धेरै आम्दानी र माछामा प्रायः रोग नलाग्ने भएकाले पनि माछापालनमा किसानको आकर्षण रहेको छ,’ वरिष्ठ मत्स्य विकास अधिकृत खातीले भने,‘अहिले स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि माछापालनमा अनुदान सहयोग गर्दै आएको छ।’

७ सय बढी तालमा माछापालन
कञ्चनपुर जिल्लामा प्राकृतिक र मानव निर्मित गरी ७ सय बढी तालमा माछापालन भइरहेको छ। कञ्चनपुरमा करिब ३ सय हेक्टरमा माछापालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पानसिंह ठगुन्नाले बताए। उनका अनुसार यहाँका किसानले प्राकृतिक तालमा समुह बनाएर माछा पालन गर्ने गरेका छन्। ‘किसानले माछापालन व्यावसाय गरेर राम्रो आम्दानी गरिरहेका छन्,’उनले भने,‘किसानले उत्पादन गरेको माछा कैलाली र कञ्चनपुरका बजारमा खपत भइरहेको छ ।’ कञ्चनपुरका करिब ५ सय किसान माछा पालन गरिरहेका छन्।

माछा पालनबाट लाखौं आम्दानी
व्यवसायिक रुपमा माछा पालन गरिरहेका किसानले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । बेदकोट नगरपालिका–६ का हरिराम चौधरीले माछापालन व्यावसाय शुरु गरेको एक दशक भयो । सानो लगानीबाट माछापालन सुरु गरेका चौधरीले अहिले १० विघामा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । माछा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी हुने गरेको चौधरी बताउँछन्।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा माछापालन व्यावसाय विस्तार गरेको थिए,’ उनले भने, ‘माछा पालनबाट राम्रो आम्दानी भइरहेको छ ।’ उनले उत्पादन गरेका माछा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा बिक्री भइरहेको छ । यसैगरी बेदकोट नगरपालिका–७ आउजीका राजीव लेखकले १० विघामा पोखरी निर्माण गरी व्यावसायिक माछा पालन गरिरहेका छन्। भीमदत्त नगरपालिका–१६ बसन्तपुरका लोकबहादुर कार्कीले पनि ६ विघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । उनले २०६९ सालमा माछापालन व्यवसाय शुरु गरेका हुन्। माछापालन व्यवसायबाट वार्षिक ३५/४० लाख आम्दानी हुने गरेको उनी बताउँछन्। ‘अहिले ८/९ जातका माछापालन गरिरहेको छु,’ उनले भने,‘माछा पालनबाट राम्रै आम्दानी भएको छ ।’

यसैगरी २०५६ सालदेखि माछाका भुरा उत्पादन गर्दै आएका शुक्लाफाँटा नगरपालिका–१ बन्साहका पल्टु चौधरीले भुरा बिक्रीबाट १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालनमा ल्याएका चौधरीले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका साथै बाँके र बर्दियाका किसानलाई भुरा बिक्री गर्छन् । वार्र्षिक २/३ करोड माछाका भुरा बिक्री गर्ने गरेको चौधरी बताउँछन् । ‘भुराको माग धेरै छ, उत्पादन गर्न सकिदैन्,’ उनले भने, ‘अहिले ८ जातका भुरा उत्पादन गरेर बिक्री गरिरहेको छु।’

भारतीय बजारमा नेपालको माछा
बेलौरी नगरपालिकामा उत्पादन गरिएका माछा भारतीय बजारमा समेत बिक्री हुने गरेको छ। बेलौरी नगरपालिका–२ बन्दातालबाट हरेक वर्ष ७० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री हुन्छ। ‘यहाँका माछा पालक किसानले उत्पादन गरेका माछा भारतीय बजारमा सहज रुपमा बिक्री भइरहेको छ,’ माछा पालक सोवरन रानाले भने, ‘मैले मात्र वार्षिक २ लाख बढी माछा भारतीय बजारमा बिक्री गर्ने गरेको छु।’ भारतको सम्पूर्णानगर, रानीनगर, किसनानगर, पटिहनलगायतका बजारका व्यापारीले पोखरीमै पुगेर माछा खरिद गर्ने गरेको उनले बताए।

उनका अनुसार माछा पालन व्यवसायबाट वार्षिक ३५ लाख आम्दानी हुने गरेको छ। रानाले पोखरीमा रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र लगायत दर्जन बढी जातका माछा पालन गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार