काठमाडौँ– लामो समयदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन गरिएको छ।
नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा बटम थिचेर सो पाइपलाइनको उद्घाटन गरेका हुन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकसाथ बटम थिचका थिए।
उद्घाटनलगत्तै बरौनी डिपोबाट अमलेखगञ्जमा डिजेल आउने र सो डिजेल भारतीय आयल निगमका पदाधिकारीले नेपाल आयल निगमका निर्देशकलाई उपहारस्वरुप हस्तान्तरण गरेका थिए। डिजेल हस्तान्तरण पछि नेपाल र भारतका प्रधानमन्त्रीले मन्तव्य पनि राखेका थिए।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाल सरकारको पहिलो प्राथमिकताको आयोजना हो। भारत सरकारको २ सय ७५ करोड लगानीमा उक्त पाइपलाइन सम्पन्न भएको हो। विसं २०६१ मा नेपाल र भारत सरकारबीच सम्झौता भएको थियो भने २३ फागुन २०७४ मा निर्माण कार्य शुरू गरिएको थियो।
पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ ७० किलोमिटर रहेकोमा भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।

त्यसैगरी, नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।
मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको हो। मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।
आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउने भएपछि निगमले मूल्य घटाएको हो।





