काठमाडौँ– सरकारले आगामी असोज १३ गते देशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने भने पनि राजधानीसहित ९ वटा जिल्लामा अझै पनि खुला रुपमा दिसापिसाव गर्ने पाइएको छ।
काठमाडौँलगायत कपिलवस्तु, सोलुखुम्बु, बारा, पर्सा, धनुषा, महोत्तरी, भोजपुर, सर्लाही जिल्लालाई अझै पनि खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेको रहेको खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्य बताउँछन्।
हाकाहाकीसँग कुरा गर्दै उनले जिल्लाका सबै स्थानीय तहलाई छिटोभन्दा छिटो आ–आफ्नो क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न निर्देशन दिइसकेको जानकारी दिए।
सबै प्रक्रिया पुरा भइसकेकाले अबको एक महिनामा मुलुक पूर्णरूपमा खुला दिसामुक्त घोषणा हुने उनको दाबी छ।
कुन जिल्लाको कुन क्षेत्र बाँकी?
भोजपुर जिल्लाको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका अझै पनि खुला दिसामुक्त क्षेत्र घोषणा भएको छैन । यस्तै बाराको कलैया नगरपालिका, जीतपुर सिमरा नगरपालिका, कोलहवी नगरपालिका, महागडीमाई नगरपालिका, सिमरौनगड नगरपालिका, पचरौटा नगरपालिका, आदर्श नगरपालिका, गाउँपालिकामा कराइयामाई, देभतल, पर्वानीपुर, सुर्वाना, फेता, बारागढी, विसरामपुरमा घोषणा हुन बाँकी छ।
पर्सा जिल्लामा विन्ध्यवासनी गाउँपालिका, धोबिनी गाउँपालिका, बाहुदरमाई नगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन्।
यसैगरी सर्लाहीमा धनकौल गाउँपालिकामा घोषणा हुन बाँकी छ। धनुषामा जनकपुर उपमहानगर, क्षिरेश्वर, गनेसमान, धनुषाधाम, नागारेन, बिदेहा, शहीदनगर, सबैला, कमला, हन्सापुर, मिथिला विहारी नगरपालिका बाँकी छन्। यस्तै जानकी नन्दिनी, बाटेश्वर, मुखियापाती मुसारनिया लक्ष्मीनियाँ, औराही र धनान्जी गाउँपालिका खुला दिसामुक्त घोषणा हुन बाँकी छ।
महोत्तरी जिल्लाको जलेश्वर, गौलाशा, लोहारपाट्टी, औराही, मातिहानी, भन्गहा नगरपालिका तथा सोनाम र महोत्तरी गाउँपालिकामा उक्त घोषणा भएको छैन्। कपिलवस्तु जिल्लाका कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा नगरपालिका, महाराजगञ्ज नगरपालिका र सुद्धोधन गाउँपालिका रहेका छन्।
सरकारले विसं २०६० को दशकदेखि शुरू गरेकोे उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ मा चितवनलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरेको थियो । त्यसैगरी सरकारले २०६८ साउनमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्दै सरसफाइ गुरुयोजनाअन्तर्गत मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिएको हो । उक्त गुरुयोजना सञ्चालन गर्दा ४३ प्रतिशत घरधुरी चर्पीको पहुँच रहेकोमा अहिलेसम्म ९९.५ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता शाक्यले जानकारी दिए। ‘हामीले घर धुरीको चर्पी र अवस्थाको मूल्याकंन गरेरै मुलुकलाई खुला दिसामुक्त घोषण गर्ने भनेका हौं,’ उनले भने।





