प्यूठान–ऐरावती गाउँपालिका बरौलामा रहेको रानीघाट महिला किसान समूहले उन्नत जातका बिउ उत्पादन गर्ने काम गर्दै आएको छ। झिमरुक जलाधार क्षेत्रमा पर्ने यो समूहले सीमित श्रोतको परिचालनबाट बिउबिजन उत्पादन गर्दै आएको हो।
उनीहरू बिउ उत्पादन र भण्डारणमा विषादीको प्रयोग गर्दैनन्। विभिन्न जातका बिउबिजन उत्पादनमा गाउँका सबै महिला एकजुट भएका छन्। त्यसको अगुवाइ मुना राउतले गरेकी छिन् । उनी समूहको अध्यक्ष पनि हुन्।
कृषि सम्बन्धी विभिन्न तालिम लिएपछि बिउबिजन उत्पादनको काम सुरु गरेको रानीघाट महिला किसान समूहकी अध्यक्ष रुमा राउतले बताइन्।
‘मकैको बिउ उत्पादन गर्नलाई आठवटा घोघामा राख्यो भने बिउ राम्रो हुन्छ। अहिले मैले यी बेर्नाहरू लगाएको छु। अन्त पनि विक्री गरिराखेको छु,’अध्यक्ष राउतले भनिन्, ‘अहिले अंगुरका बुटा राखीराखेको छु।’
पहिलाको तुलनामा आजभोलि गाउँका मानिसहरू आफैँ पनि उन्नत जातका बिउ उत्पादन गर्ने लागेको रानीघाट महिला किसान समूहकी सचिव देवी राउत बताउँछिन।
‘हामीले समूहमा बिउ उत्पादन गरी नबुझ्नेहरुलाई पनि दोहराइ, तेहराइ गरेर सम्झाएर, बीउ उत्पादन गरेका छौँ। अहिले गाउँका मानिसहरू आफैँ उन्नत बिउका बारे जानकार भइसकेका छन्,’उनले भनिन्।
यहाँका महिलाहरूले समूहमा सङ्गठित भएर सामूहिक बिउ उत्पादनका साथै एक्ला एक्लै पनि बिउ उत्पादन गरिरहेका छन्। महिलाहरूले धान, गहुँ लगायतका बिउहरू उत्पादन गरेर बेच्ने गर्दछन्। अहिलेसम्म धानको बिउबाट घाटा नलागेको अध्यक्ष रावतले बताइन्।
महिला समूहले यसरी उत्पादन गरेको बिउ घर घरमा भण्डारण गर्छन्। उनीहरूले गहुँको बीउ खरिदका लागि बुटवलमा रहेको लुम्बिनी बिउ कम्पनीसँग दुई वर्षीय सम्झौता गरेका छन्।
‘हामीले गहुँ बिउ उत्पादन गर्न लागेको ५ वर्ष भयो, तीन वर्ष पहिले दशरथपुरबाट ल्याएर उत्पादन गर्यौ, हामीहरू केयुभिक मार्फत गर्छौ। हामी कात्तिक २०, २२ देखि गहुँ लगाउन शुरु गर्छौ, अनि गहुँ लगाइसकेपछि त्यसमा झारपात २–३ पटक गोडमेल गर्छौ, अनि सिँचाई गर्छौँ। त्यो बिउलाई राम्रोसँग ढुवानी गर्ने गर्छौ,’सचिव देवी रावतले भनिन्।
यसरी उत्पादन गरेको उन्नत बिउ उनीहरूले बेच्छन्। आय आर्जन गर्छन्। आवश्यकता अनुसार खर्च पुर्याउँछन । अनि भविष्यका लागि बचत पनि गर्छन्। महिला किसानहरूको यो समूह बीउ उत्पादनमा मात्रै सक्रिय छैन, अन्य आयमूलक गतिविधिमा पनि लागेको छ।
माछापालनको व्यावसायिक सुरुवातमा पनि महिला समूहले सघाएको छ। समूहले सघाएर रुपा श्रेष्ठले माछापालन शुरु गरेकी छिन्। उनले आफ्नो नयाँ व्यवसायको थालनी गरेकी छिन्।
‘भर्खरै माछापालन गर्ने शुरु गरेकी छु। माछा राम्रै होला जस्तो छ। यो सफल भयो भने अर्को पोखरी पनि खोल्ने बिचार छ,’ रुपा श्रेष्ठले भनिन्।
महिला समूहसँग आफ्नै ट्रयाक्टर पनि छ । यसका कारण आफूले उत्पादन गरेको अन्नबाली ढुवानीमा सघाउ पुगेको छ।
प्युठानको ऐरावतीमा शुरु भएको आफैँले आफैँलाई सम्पन्न, सबल र सुदृढ बनाउने ग्रामीण महिलाहरूको यो अभियान गरिबीमा बाँचिरहेका महिला किसानहरूका लागि उदाहरण बनेको छ।





