काठमाडौँ – कर्णाली प्रदेशसभाको बैठकले प्राङ्गारिक कृषिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रदेशसभाको चौथौ अधिवेशनको २५ औँ बैठकमा प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको हो।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि विधेयक बहुमतले पारित भएको हो ।
प्राङ्गारिक कृषि अभियान
प्रदेशसभा सदस्य अमरबहादुर थापाले विधेयकको छलफलमा भाग लिँदै प्रदेश सरकारले यसलाई अभियानका रुपमा लागू गर्नुपर्ने धारणा व्यक्त गरे। गाउँगाउँमा अर्गानिकको महत्व बुझाउनका लागि सरकारले विज्ञको व्यवस्था गर्नुपर्ने थापाको भनाइ छ। भौगोलिक रुपमा विकट भएको प्रदेश भएको हुनाले राज्यले सञ्चालन गर्ने हरेक योजना तथा कार्यक्रमसँग जोडेर अभियानका रुपमा लागू गर्न उनले सुझाव दिए।
सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री केसीले कर्णालीलाई अर्गानिक बनाउन सरकारले अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने बताइन। तीन तहको उचित समन्वय र सहकार्यबाट कर्णाली प्रदेश अर्गानिक बन्ने भन्दै उनले यसमा सबैको महत्वपूर्ण योगदान आवश्यक रहेको जनाइन। नेपालमा पहिलो पटक अर्गानिक कानून बनेकाले सबैभन्दा पहिला कर्णाली प्रदेश नै अर्गानिक बन्ने उनले विश्वास व्यक्त गरिन् ।





