पाँच वर्षदेखि पुल निर्माण अलपत्र, यात्रा कष्टकर

जाजरकोट- सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन् ।

पाँच वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन । यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरु बताउँछन् ।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण भएको पनि अहिले करीब ११ वर्ष बितेको छ । सडक कालोपत्र भएको पनि चार वर्ष बितेको छ । पुल निर्माणका लागि पाँच वर्षअघि ठेक्का सम्झौता भएको थियो ।

पासागाड खोलामा गलत डिजाइनका कारण पाँच वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको छ । परामर्शदाता कम्पनीले रु सात लाख लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । दुई वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै शुरु भएको छैन ।

पुल निर्माणका लागि पाँच वर्षअघि तीन करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौँले सडक विभागसँग सम्झौता गरेको थियो ।

प्राविधिकले तीन वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो । सडक विभागले फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल काम शुरु गर्ने कम्पनीले जनाएको छ ।

यो पुल निर्माण नहुँदा जाजरकोट मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम र डोल्पालाई समेत असर गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार