काठमाडौँ– चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमण वेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनमा लागि आवश्यक पर्ने संयन्त्र निर्माण र परियोजना छनौटमा केन्द्रित हुने भएको छ। मन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन् । उनले काठमाडौंमा रहँदा वृहत राजनीतिक परामर्श समेत गर्नेछन्।
नेपाल र चीनले सन् २०१७ को मे महिनामा बिआरआईको समझदारीपत्रमा हस्ताक्षर गरेपनि अहिलेसम्म कुनै परियोजना छनौट भएको छैन् र उच्च राजनीतिक तहमा यसका लागि आवश्यक संरचना समेत अझै निर्माण भएको छैन्। चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २०१३ मा सो परियोजना अगाडि सारेका थिए र संसारका ७० भन्दा मुलुकहरू यसमा सहभागी भईसकेका छन्। तर, सो परियोजना अन्तर्गत ऋण लिएका केही मुलुकले पछि तिर्न नसकेपछि नेपालजस्ता साना मुलुकहरू बढी सचेत छन्।
छिमेकी मुलुक भारत यसका सहभागी छैनन् र अर्काे दक्षिण एसियाली मुलुक भुटान पनि यसमा सहभागी छैन्। सार्कका अन्य मुलुकहरु पाकिस्तान, वंगलादेश र श्रीलंका लगायतका देशले यस अन्तर्गत विभिन्न परियोजनाहरु कार्यान्वयन गरिरहेका छन्। भारत लगायत पश्चिमा मुलुकले भने यसको विरोध गरिरहेका छन्।
योजना छनौट र कार्यान्वयनका लागि परराष्ट्रमन्त्री र अर्थमन्त्री सम्मीलित एक समिती निर्माण भएपनि त्यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन् र उच्चस्तरीय संयन्त्रणको माग भईरहेको छ। त्यसैले भ्रमणको दौरानमा संरचना निर्माणको विषयमा छलफल हुने स्रोतले बताएको छ। स्रोतका अनुसार भ्रमणको समयमा बिआरआईको कार्यादेश र कार्ययोजनाको विषयमा विस्तृतमा कुराकानी हुनेछ जसमा अहिले नै सहमति नभएपनि चिनियाँ राष्ट्रपतिको भ्रमणको समयसम्म हस्ताक्षर हुनसक्छ।
त्यसैगरी बिआरआई अन्तर्गत कार्यान्वयन हुने भौतिक संरचनाहरुको विषयमा समेत विस्तृतमा छलफल हुनेछ। शुरुमा नेपालले ३६ वटा परियोजनाहरु छनौट गरेकोमा चिनियाँ पक्षको आग्रहमा त्यसलाई ९ वटामा झारिएको छ। बिआरआईको समयसिमा ३ वर्ष हो र त्यो सकिनै लागेका कारण तत्कालै केही परियोजना छनौट गर्नुपर्ने दवावमा नेपाल छ। केही परियोजनाहरुको लगानीको मोडलको विषयमा समेत तिव्र रुपमा छलफल भईरहेको छ तर विस्तृत सहमति भने भईसकेको छैन्।
निकै चर्चामा रहेको रेलवेको विषयमा भने सो भ्रमणमा खासै छलफल हुने छैन्। केरुङ–काठमाडौै रेलवे लाइनको विषयमा चिनियाँ पक्षले पूर्व सम्भाव्यता अध्ययन गरेपनि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, लगानीको मोडल के हुने भन्ने विषयमा भने खासै छलफल भएको छैन्। प्रविधी र अन्य कारणले गर्दा तत्कालै रेलवे आउने सम्भावना एक रहेको स्वयं चिनियाँ पक्षले बताईरहेको छ । त्यसमाथि पनि रेलको बारेमा नेपालले चीनसँग स्पष्ट प्रस्ताव समेत पेश गरेको छैन्।
तिमध्ये पनि तत्काल कुन कुन परियोजना अगाडी वढाउने भन्ने विषयमा वाङको भ्रमणमा छलफल हुनेछ। चार वर्षपछि हुन लागेको विदेशमन्त्रीस्तरीय वैठकलाई निकै महत्वका साथ हेरिएको छ। सो भ्रमणले राष्ट्रपति सि जिनपिङको भ्रमणका लागि आवश्यक वातावरण समेत बनाउने सरकारी अधिकारीहरुको भनाई छ।
सोमबार मध्यान्ह काठमाडौंको याक एण्ड यति होटलमा हुने औपचारिक द्धिपक्षिय वार्तामा विभिन्न दुईपक्षिय एजेण्डाहरुको बारेमा छलफल हुनेछ। भारत तर्फको एकल निर्भरताको अन्त गर्नका लागि दुई देशले हस्ताक्षर गरेको पारवहन सम्झौताको प्राटोकलमा हस्ताक्षर भईरकेको छ। अब नेपालले चीनको कुन–कुन बाटो प्रयोग गर्ने र बन्दरगाह प्रयोग गर्ने भन्ने विषयमा समेत विस्तृतमा छलफल हुने बताइएको छ।
अर्काे महत्वपूर्ण एजेण्डा हो, व्यापार घाटा। पछिल्लो दशकमा नेपाल र भारतको विचमा व्यापार घाटा निकै बढेको छ । यस बाहेक चिनियाँ लगानी बढाउने विषयमा समेत वृहत रुपमा छलफल हुनेछ । यस बाहेक चिनियाँ सहयोगमा नेपालमा संचालन भईरहेको परियोजनाहरुको विषयमा समेत विस्तृतमा छलफल हुनेछ । विदेशमन्त्रीको भ्रमणको समयमा चिनियाँ राष्ट्रपतिको सम्भावित आसन्न नेपाल भ्रमणको विषयमा समेत कुराकानी हुनेछ। भ्रमणको सन्दर्भमा आगामी अक्टोबर ११ देखि १३ मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सिको विचमा भारतको तामिलनाडुमा अनौपचारिक वार्ता हुँदैछ।
त्यही वेला उनी केही घन्टाका लागि काठमाडौं आउने सम्भावना रहेको छ। मोदी र सि को विचमा सन् २०१८ मा लामो समयको दोक्लामा विवादपछि चिनको उहानमा उच्चस्तरीय वार्ता भएको थियो । त्यसपछि दुई देशको विचको सम्वन्धमा सुधारतर्फ अगाडी बढेको थियो । त्यसकै फलोअप वैठकको रुपमा तामिलनाडुमा वैठक हुन लागेको हो। यही समयमा नेपाल आउने सम्भावना रहेको छ । दोस्रो चाहि आागमी अक्टोबरमा सि तिब्वतमा आउने कार्यक्रम रहेको र त्यही समयमा उनी नेपाल आउने सम्भाबना एकदमै प्रवल रहेको छ।
नेपालले भने भारतबाट फर्कदा ‘स्टपओभर’ निर्माण भन्दा पनि केही घन्टाका लागि सिधै काठमाडौं भ्रमणका आउने ब्यवस्था मिलाउन आग्रह गरिरहेको छ। सरकारी अधिकारीहरुका अनुसार ढिलो चाँडो उनी नेपाल भ्रमणमा आउने छन्। यस अगाडि सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति ज्याङ जमिन नेपाल भ्रमणमा आएका थिए।





