Tuesday, September 24, 2024

वाग्मतीलगायत नदी र चक्रपथ सफाइ अभियान जारी

काठमाडौँ -उपत्यकाका सभ्यताका स्रोतका रुपमा रहेका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको ३३०औँ हप्तामा त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खेरेलले जानकारी दिइन् । अभियानमा पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणालगायत अभियानकर्मीको पनि सक्रियता थियो ।

मुहानदेखिकै वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले भदौ १३ गतेको गोकर्णे औँसीको मेलामा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर व्यवस्थापन सम्पन्न गरेको जनाएको छ । यस क्षेत्रको वाग्मती सफाइको २९२औँ हप्तामा कुहिने फोहर जति कम्पोष्टविनमा राखी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । मञ्चले गुह्येश्वरीभन्दा माथिको वाग्मतीमा सफाइ अभियान चलाउँदै आएको छ ।

आइबार बिहान कागेश्वरी महादेव मन्दिरमा पनि सफाइ अभियान गर्न लागिएको मञ्चले जनाएको छ । शुक्रबार कागे अष्टमीका अवसरमा यहाँ तीनदिने मेला आयोजना गरिएको छ । मेलामा भाग लिएका लाखौँ भक्तजनका कारण शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको यो क्षेत्र फोहर बनेको छ ।

विष्णुमती सफाइको २५७औँ हप्तामा टोखा नगरपालिका–९, १० र ११ एवं विष्णुमती सफाइ अभियानको संयुक्त आयोजनामा त्यस क्षेत्रमा सफाइ गरियो ।

सफाइमा सांसद भीमसेनदास प्रधानले सचेतना गरेर नदी एवं सार्वजनिक स्थलमा फोहर नफाल भनेपछि फाल्नेलाई कानूनीको कारवाहीको दायरामा ल्याउन स्थानीय सरकार लाग्नुपर्ने बताए । नदी र सार्वजनिक स्थानमा फोहर फाल्नु नैतिकता विपरीतको काम हो भनी नबुझ्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुको विकल्प नहुने उनको भनाइ थियो ।

सफाइमा नगरपालिका–९, १० र ११ का वडाध्यक्षहरु क्रमशः जेपी नेपाल, मधुसूदन पाण्डे र उत्तम अधिकारीले नदी, सडकलगायत सार्वजनिक स्थान सफा राख्ने दायित्व सबै नागरिकको भएकाले फोहर फाल्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाए।

सफाइ संयोजक शोभाकान्त पाण्डेले सांसद प्रधानसँग सफा नेपाल अभियानका लागि संसद्मा आवाज उठाउन माग गरे । घर एवं पसलधनीलाई कम्पोष्ट मल राख्ने भाँडो र फोहर राख्ने भाँडो वितरण गरी फोहर व्यवस्थापन गर्न पनि आग्रह गरे।

मनोहरा नदी सफाइको १२९औँ हप्तामा महानगरपालिका–३२ बालकुमारी पुल क्षेत्रमा सफाइ गरियो । जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालको समेत सफाइमा सक्रियता थियो । सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

चक्रपथ उत्तर क्षेत्र सफाइको १२७औँ हप्तामा वसुन्धराबाट चक्रपथसम्म सफाइ गरियो । करीब २०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट नौ टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिए।

काठमाडौँ महानगरपालिका–३१ आलोकनगर क्षेत्रमा पनि १२७औँ हप्ताको सफाइ कार्यक्रम गरियो । अभियानकर्मी जम्मा भई सडकमा जम्मा भएको फोहर टिपी व्यवस्थापन गर्नाका साथै सचेतनामूलक कार्यक्रम पनि गरिएको संयोजक प्रमिला पौडेलले बताए।

चक्रपथ पश्चिम खण्ड सफाइको १०९औँ हप्तामा मकालु यातायात अघिबाट स्युचाटार पुलसम्मको क्षेत्रमा सफाइ गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरपालिकाले गर्नुपर्ने काम अभियानकर्मीले गरेको भन्दै खुशी व्यक्त गरे। जिल्ला समन्वय समितिले सफाइ अभियानलाई सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । शनिबारको यस क्षेत्रको सफाइबाट दुई ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले सुनाए ।

यसैगरी आज वाग्मतीको तिलगङ्गा, गुह्येश्वरी र सुन्दरीघाट, रुद्रमती र ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान फैलिएर हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफा गर्ने जागरण आरम्भ भएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार