प्राचीन बस्तीहरूको पुनर्निर्माणमा कोरियाले सहयोग गर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकाका प्राचीन बस्तीहरूको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ।

उपत्यकाका ऐतिहासिक महत्त्वका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरूको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरूमा स्मार्ट सिटी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच सियोलमा शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी अनुसार पहिलो चरणमा सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशनले प्राचीन बस्तीका रुपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरूको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरूको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको हो।

यस्तै सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशनले स्मार्ट सिटी विकासका सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौँ उपत्यका विकास प्राधिकरणको स‌ंस्थागत क्षमता विकासमा सहयोग पुर्याउनेछ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको संरक्षण गर्न तथा नयाँ शहरहरुको विकासका लागि कोसेढुङ्गा सावित हुने बताए।

सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले शहरी क्षेत्रको पुनर्निर्माण तथा स्मार्ट सिटीहरुको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँडन् पाउँदा खुशी लागेको बताए।

समझदारीपत्रमा नेपालका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरेका छन्।

सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिका अन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरूको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्लोबल इन्फ्रास्टकचर कोअपरेसन सम्मेलनमा नेपालको पुनर्निर्माणको भावी कार्ययोजना र अन्तराष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधारहरू निर्माण गर्दा पर्यावरणीय संरक्षण र दीगो विकासका निम्ति सबै मुलुकहरूका बीच सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार