दार्चुला–महाकाली करिडोर अन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्म २ सय ९१ किलोमिटर सडकखण्डको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको छ।
ब्रह्मदेव–खलंगा सडक खण्डको इआइए प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी गराउँदै जियोसिस कन्सल्टेण्ट्स/ युनिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले एघार मिटर अर्थात् दुई लेन चौडाइ रहने सडक निर्माण गर्दा पाँच हजार ठूला रुख तथा ७ हजार बुट्यान काटिने जनाएकाे छ।
सडकखण्डकोे इआइए सम्बन्धी जानकारी तथा सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दार्चुलामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बैतडीको पञ्चेश्वर बाहेक सबै क्षेत्रमा वातावरणीय प्रभाव मूल्याकंनको काम भइसकेको प्रालिले बताएकाे छ।
परामर्शदाता कम्पनीका टिम लिडर रेसम बानियाले दार्चुलाका लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका क्षेत्रमा मात्रै एक हजार दुई सय ६२ रुखहरू काट्नुपर्ने बताए । वनजंगल र बस्ती नभएका ठाउँमा ठेक्का भएर निर्माण चलिरहेको समेत बानियाँ बताउँछन्।
करिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५९ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर र दार्चुलाको धनथलादेखि खलंगासम्म ७७ किलोमिटर सडक निर्माण भइरहेको छ। दार्चुला र बैतडीमा अहिले सञ्चालनमा रहेको ३७ किलोमिटर सडक महाकाली राजमार्गकै रुपमा प्रयोग हुने कोरिडोर आयोजनाले जनाएको छ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले निर्माणाधीन करिडोरका कारण पहिरो जाँदा थुप्रै बस्ती जोखिममा परेको बताए। उनले सडक खन्दा निस्केको माटो तल फाल्नाले वर्षाका बेला माटो बस्तीमा पुगेर स्थानीयको उठिबास हुने जोखिम बढेको बताए।
लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले ईआइएको काम छिटो सम्पन्न गरेर मापदण्ड अनुसार सडक निर्माण गर्न सुझाव दिए।
सडक निर्माणको आधा काम भइसक्दा पनि स्थानीय तह र सरोकारवालाहरूसँग आयोजनाले समन्वय नगर्दा अन्यौलता रहेको महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टकाे भनाइ छ।





