अब सार्वजनिक सवारीबाट फोहोर फाले पाँच हजार जरिवाना

काठमाडौँ – अबदेखि कुनै पनि व्यक्तिले बस वा अन्य सार्वजनिक सवारी साधनबाट सडकमा फोहोर फालेमा पाँचहजार जरिवाना तिर्नुपर्ने भएको छ।

काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण ऐन २०७६’ कोे दफा १५ को उपदफा १(ङ) अनुसार सार्वजनिक यातायातमा क्षति पुर्याउने, फोहोर गर्ने वा सार्वजनिक सवारी साधनबाट सडकमा फोहोर फाल्ने व्यक्तिले पाँच हजार जरिवाना तिर्नुपर्नेछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठद्वारा संसदमा पेश उक्त विधेयक अनुसार सार्वजनिक यातायातमा तोकेको भाडा नतिरी यात्रा गर्ने, भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रत्यत्न गर्नेलाई एक हजार देखि पाँच हजारसम्म जरिवना हुने छ। त्यसैगरी उक्त विधेयकको दफा १५को उपदफा १(ख) अनुसार यात्रुसँग तोकिए बमोजिमको भाडा नउठाउने वा अनावश्यक सहुलियत दिने वा कम भाडा असुल गर्नेलाई पनि कारवाही हुनेछ।

सार्वजनिक यातायातभित्र ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गर्ने, सहचालक, चालक तथा यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्ने व्यक्तिलाई प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत वा प्राधिकरणले तोको प्राधिकरणको कुनै अधिकृत कर्मचारी वा कम्तीमा सहायक निरीक्षक दर्जाको ट्राफिक प्रहरीले एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना लिन सक्नेछन्।

काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमै, विश्वसनीय, लागत–प्रभावी र सुरक्षित बनाउन तथा सार्वजनिक यातायात सेवालाई माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै एकीकृत यातायात प्रणालीको व्यवस्थापन, विकास तथा विस्तार गर्न र सार्वजनिक यातायात सेवाको नियमन तथा सञ्चालन सम्बन्धी व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि यातायात प्राधिकरणको स्थापना गर्न वाञ्छनीय भएको भन्दै यातायात मन्त्री महासेठले उक्त विधेयक संसदमा गत साउन २१ मा दर्ता गराएका हुन्।

संसदमा दर्ता भएकाे उक्त विधेयककाे पूर्णपाठ

ताजा समाचार

सम्बन्धित समाचार