काठमाडौँ– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ।
यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो। यसअघि आठ घण्टा बन्द गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक बन्द हुने समयतालिका परिर्वतन गर्दै दैनिक साढे सात घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको हो। यही भदौ १९ गतेदेखि २६ गतेसम्म बिहान ७ः०० देखि ९ः०० बजे र त्यसपछि बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिनेछ।
दिउँसो २ः०० बजेदेखि अपराह्न ४ः३० बजेसम्म कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ। यसअघि यही भदौ ५ गतेदेखि बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म सडक बन्द गरिँदै आएकामा दिउँसो १ः०० देखि २ः०० बजेसम्म एक घण्टा सडक सञ्चालन गर्ने निर्णय भएको थियो।
अदुवाबारीदेखि बागलुङ नगरपालिकाको बाङगेचौर जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा सडक बन्द गरिँदै आएको छ।
दैनिक साढे सात घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
थानी÷बिएलटी÷हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ। यो झोलुङ्गे पुल हालसम्मकै सबैभन्दा लामो ५६७ मिटर र १३८ मिटर उचाइको हुनेछ।





