काठमाडौँ– सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
विद्युत् खपत बढाउनका लागि राजधानी काठमाडौँलगायत प्रमुख शहरमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने सरकारी नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले जनाएको छ।
तस्बिर सुन्दर यातायात
साथै सुन्दर यातायातले भदौ २३ गतेदेखि राजधानीमा चार वटा विद्युतीय बसबाट सेवा दिने तयारीसमेत गरेको छ।
चार्जिङ स्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने लक्ष्य राखिएका बताए।
त्यस्तै सुन्दर यातायाताका अध्यक्ष भेषबहादुर थापाले मंगलबार उद्घाटन भएको चार्जिङ स्टेशन सञ्चालनमा आएपछि एकै पटक छ वटासम्म सवारी साधन चार्ज गर्न सकिने जानकारी गराए।
चक्रपथमा दैनिक गुड्ने डिजल गाडीले चार हजार बराबरको इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले मात्रै सात सय बराबरको विद्युत् खपत गर्ने थापाको भनाइ छ। त्यसबाट यातायात थप सरल र सस्तो बन्न जाने उनले स्पष्ट पारे।
उनका अनुसार प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको छ। प्राधिकरणबाट थ्री फेज लाइन विद्युत् लिइएको छ। सार्वजनिकरुपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिनेछ।
कूल एक करोड ६२ लाख पर्ने विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिँदै उनले महङ्गो सवारी साधनले लागत उठाउँछ त भन्ने धेरैको जिज्ञासा रहेपनि आगामी छ वर्षभित्र आफूहरु नाफामा जान सक्ने अवस्था रहेको बताए।
त्यस्तै सरकारले साझा यातायातलाई ३०० वटा विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेटसमेत विनियोजन गरिसकेको छ। प्राधिकरणले पहिलो चरणमा ३० वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ। सोही तयारीका लागि मन्त्री पुनलाई बुझाएको कार्यदलको प्रतिवेदन प्राधिकरणमा छ।





