‘अमेजन आगलागी सम्मेलन’मा ब्राजिलका राष्ट्रपति सहभागी नहुने

ब्राजिल– अमेजन रेनफरेस्टको भीषण आगलागी, त्यसको नियन्त्रण तथा प्रभावबारे छलफल गर्न आयोजित सम्मेलनमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो सहभागी नहुने भएका छन्।

सोमबार राष्ट्रपतिका प्रवक्ताले बोल्सोनारोको शल्यक्रिया गर्नु पर्ने भएकाले उनी सम्मेलनमा सहभागी नहुने जानकारी गराएका हुन्। ब्राजिलले सम्मेलनका लागि राष्ट्रपतिको सट्टा प्रतिनिधि पठाउन सक्ने या सम्मेलनको मिति पछि सार्न आग्रह गर्ने भएको बताइएको छ।

चुनावी अभियानको क्रममा बोल्सोनारोमाथि चक्कु प्रहार भएको थियो। आक्रमणपछि उनको तीनवटा शल्यक्रिया भइसकेको छ। उनको चौथो शल्यक्रिया आउँदो आइतबार हुनेछ। बोल्सोनारोले उपचारपछि १० दिन आराम गर्नु पर्ने डाक्टरले बताएका छन्।

तर शुक्रबार नै कोलम्बियामा अमेजनमा भइरहेको आगलागी सम्बन्धी क्षेत्रीय सम्मेलन भएकाले उनको सहभागिता नरहने भएको हो।

अमेजन रेनफरेस्टमा यो वर्ष हालसम्म डढेलोका ८० हजार भन्दा बढी घटना भएका छन् । अमेजन रेनफरेस्टको संरक्षणका लागि आवश्यक कमद चाल्न नसकेकोमा राष्ट्रपति बोल्सोनारोको आन्तरिक तथा बाह्य रुपमा गम्भीर आलोचना भइरहेको छ।

अमेजनलाई विश्वको अक्सिजन र जैविक विविधताको स्रोतको रुपमा लिइन्छ। त्यसैले यो आगलागीलाई विश्वकै एक संकटको रुपमा ब्याख्या गरिएको छ । विश्व वन्यजन्तु कोषका अनुसार अमेजन वनले विश्वको २० प्रतिशत अक्सिजन उत्पादन गर्ने गर्दछ र त्यसैले यसलाई ‘पृथ्वीको फोक्सो’ समेत भन्ने सकिन्छ। विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको दर कम गर्नका लागि अमेजन रेनफरेस्टको भूमिका महत्वपूर्ण रहन्छ।

अमेजन रेनफरेस्टमा गएको वर्षको तुलनामा यो वर्ष आगलागीका घटना ७७ प्रतिशतले बृद्धि भएको र त्यसका लागि बोल्सोनारोको नीति जिम्मेवार रहेको वातावरणविद तथा वातावरण संरक्षणको पक्षमा वकालत गर्दै आइरहेकाहरुले आरोप लगाउँदै आएका छन्।

तर, सोमबार पत्रकारसँग कुरा गर्दै बोल्सोनारोले अमेजन रेनफरेस्टका सम्बन्धमा आफ्नो नीतिको बचाउ गरे। उनले सेप्टेम्बर २४ मा हुने संयुक्त राष्ट्रसंघको महासभामा ह्वीलचियरमै भए पनि सहभागी हुने बताएका छन्। अमेजनको डढेलो नियन्त्रणका लागि २० मिलियन अमेरिकी डलर सहयोगको प्रस्ताव गरेर अरु देशले उपनिवेशिक चरित्र देखाएको बोल्सोनारोले आरोप लगाएका छन्।

तस्बिर: टाइम

ताजा समाचार

सम्बन्धित समाचार