कैलाली– भजनीमा धेरैजसो खेतहरू बाँझै छन्। धान फल्ने ठूला–ठूला फाँटहरू चरिचरणमा बदलिएको छ। दुःख गरेर लगाएको धानबाली बाढीले सखाप पार्न थालेपछि यहाँका किसानहरूले जमिन बाँझै छोड्न थालेका हुन्।
कर्णाली नदीले हरेक वर्ष तटीय क्षेत्रमा कटान गर्छ। टीकापुर नगरपालिकाका शाहीपुर, बटनपुर, धनसिंहपुर, नारायणपुर लगायतका ठाउँ नदी कटानको जोखिममा छन्। बाढी र डुबानका कारण तटीय क्षेत्रका बासिन्दाहरू पीडित छन्। त्यसमाथि भारतीय पक्षले बनाएको कैलाशपुरी बाँधका कारण पनि नेपालतर्फ डुबान हुने गरेको छ।
‘परार साल हामीले धानै पाएनौँ । पोहोर साल हामीले रोपेनौ। यो साल पनि रोपेनौ। हर सालत्यस्तै हुन्छ,’ भजनी नगरपालिका– ८ का स्थानीय प्रजापति चौलागाईले भने।
समुदायका लागि वडास्तरीय विपद् व्यवस्थापन समिति भजनी नगरपालिका –८ का संयोजक कृष्णलाल धमला भन्छन्,‘यताबाट पथरैया, मोहना, कर्णाली र काढा नदीहरू यो बाटो हुँदै बगेर जान्छन् । अनि कैलाशपुरमा पुग्छन्। तर, त्यहाँ बाँध बाँधिएको छ। त्यहाँ बाँध थुनेपछि यहाँ नदी एकदमै मन्द गतिमा बिस्तारै बग्न थाल्छ । जसको कारण ओभर फ्लो भएर डुबान हुन्छ ।’
बर्खे बालीलाई बाढीले असर गर्न थालेपछि उनीहरूले विकल्पमा चैते धान लगाउन थालेका छन्। चैते धान बाढी प्रभावित क्षेत्रका बासिन्दाको जीवन धान्ने गतिलो माध्यम पनि बनेको छ।
‘चैत भित्रै लगाउन सक्यो र जेठ भित्रै निकाल्न सक्यो भने त्यसले राम्रो उत्पादन दिन्छ । बाढी आएपनि खेतमा धान हुँदैन,’ संयोजक धमलाले भने।
चैते धान लगाएपछि बर्खा लाग्दासम्म काट्ने र बाढीले बालीलाई नोक्सान हुनबाट समेत बच्ने भजनी नगरपालिकाका किसान कृष्णा चौधरीले बताए। ‘यो बाढी आउने ठाउँ हो। बाढीले धान डुबाउँछ। बर्खामा धान रोपेपछि त बाढीले फल्ने समयमा बगाउँछ । चैते धान लगाए पछि ठिक्क वैशाख जेठमा काट्न मिल्छ । जेठ असारको एक हप्ता पहिलेसम्म काटेर सुकाउन सजिलो हुन्छ,’उनले भने।
बाढीजन्य प्रकोपका कारण हरेक वर्षातमा तल्लो कर्णाली जलाधार क्षेत्र प्रभावित हुँदै आएको छ। नदीजन्य स्रोतको अव्यवस्थित दोहनका कारण पनि यस्ता समस्या देखिन थालेका छन्।
कर्णाली नदीको ढुङ्गा बालुवा उत्खनन भने अव्यवस्थित छ। नदीजन्य स्रोत उत्खनन गर्न कुनै रोकटोक छैन । स्रोत परिचालनको जिम्मा पाएका स्थानीय तहबीच नदी दोहनको होडबाजी जस्तै चलिरहेको छ । थोरै लाभको आशामा धेरै नोक्सान हुने तर्फ ध्यान गएको छैन। कर्णालीको स्रोत उपभोग गर्ने स्थानीय तहले नै वातावरणीय प्रभावको ख्याल गरेका छैनन्।
सुदूरपश्चिमप्रदेशका प्रदेशसभा सदस्य डा।रणबहादुर रावलले कर्णाली नदीको दोहन अत्याधिक हुँदै गएको बताए।
‘उतातिर बर्दियाको बेल्ट पाँच नम्बर, सुदूरपश्चिमको पुरा टीकापुरदेखि लिएर, धनसिंहपर, लालबोझी सम्म बग्ने, डुबान हुने स्थिति छ। स्थानीय सरकारले केही पैसा पाएका छन्, ठेकेदारहरूबाट । त्यसको आधारमा दोहन गरेर वास्तवमा दयनीय अवस्थामा यहाँ पु¥याएका छन्,’उनले भने।
कर्णाली नदीको दोहन रोक्न कर्णालीको सिरानबाटै शुरु गरिनुपर्ने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले बताए। ‘हाम्रो क्षेत्रमा भएको श्रोत साधन हाम्रो क्षेत्रमा भएको उत्खनन् र अरूको क्षेत्रमा भएको उत्खनन् हेर्ने हो भने पनि हामी ब्यालेन्समा छाँै। तथापि यो सबैको सरोकारको विषय भएकाले टिकापुर क्षेत्रका स्थानीय सरकारले गरेमात्र भएन’उनले भने,‘कर्णालीको सिरानबाट न्यूनीकरणको आवश्यकता रहेको छ।’
आइइइ गरेर मात्र ढुङ्गा बालुवा, गिट्टीहरू उत्खनन् गर्ने गरेको राजापुर नगरपालिका बर्दियाका उपप्रमुख मनकला चौधरीले बताइन्।
‘कति मात्रामा कुन ठाउँबाट ढुङ्गा बालुवा, गिट्टी निकाल्ने कुरा सम्झौतामा हुन्छ । त्यो अनुसार हामीले उठाइरहेका छौ । त्यो भन्दा बढी उठाउन पनि दिँदैनौ। ठूला मेशीनरी पनि प्रयोग गर्न दिँदैनौ,’उनले भनिन्।
कर्णाली नदी व्यवस्थापनको प्रयास
पछिल्लो समय कर्णाली नदी व्यवस्थापनको काम पनि भएका छन्। कर्णालीका दुवै किनारमा तटबन्ध निर्माण भएको छ। बर्दियातर्फ कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्ध निर्माणको काम गर्दै आएको छ। कैलालीतर्फ रानी जमरा कुलरिया सिँचाई आयोजनाले नदी नियन्त्रणको काम गरिरहेको छ।
‘सत्तरी एकहत्तर सालमा भयंकर ठूलो बाढी आयो। अहिले चाहिँ कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्ध गरेको हुनाले कर्णाली नदीबाट त्यति ठूलो डर छैन । अब आकाशे पानीबाट डर छ । नदीमा पानी जाने बाटो पहिले खुला थियो यताबाट पानी ह्वात्त आयो ह्वात्त जान्थ्यो । अहिले माथिको पानीबाट बाढी आउने डर छ,’ राजापुर नगरपालिका –१ मुरगहवा, बर्दियाका थारु बडघर लल्तुप्रसाद थारुले भने।
बर्खामा समयमा बढी क्षति हुने गरेको र यसको न्यूनीकरणको लागि रानीजमरा सिँचाई योजनाले वृहत् तटबन्धको योजना गरेको टीकापुर नगरपालिका–५ का वडा अध्यक्ष डगौरा थारुले बताए।
त्यसैगरी बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि पूर्व सूचना प्रणाली ज्यान जोगाउने माध्यम बनेको छ। बाढी आउनु पूर्व नै उनीहरू सूचना पाउँछन् । अनि सुरक्षित स्थानतर्फ लाग्छन्।
‘विगतको तुलनामा अहिले सुधार छ। माथिबाट पानी आयो भनेर चिसापानीबाट खबर आउँछ सबैलाई। हामी सुरक्षित स्थानमा लागिहाल्छौ,’ टिकापुर नगरपालिका–५ का प्रेम विकले भने।
त्यस्तै भजनी नगरपालिका वडा नम्बर ८ सुनाहाफाँटा बाढी प्रभावित क्षेत्र हो। तर, सुनाहाफाँटाबासी विपद् व्यवस्थापन बारे पूर्व तयारी गर्छन् । स्थानीय कृष्णलाल धमलाको नेतृत्वमा बाढी प्रतिकार्य कार्यदल सक्रिय छ । कार्यदल मार्फत समुदायमा विपद् व्यवस्थापनका अभ्यास पनि हुन्छन् । त्यसैगरी सरोकारवाला पक्षले पनि विपद् व्यवस्थापनमा सघाउँदै आएका छन् ।
सामुदायिक विपद् व्यवस्थापन समितिमा ११ जना रहेका छन्। उनीहरू पूर्व तयारीका रूपमा बसेका हुन्छन् ।
‘अहिले उनीहरू विज्ञ भएका छन्। यस्तो ठाउँमा हामीले जानुपर्छ । यो ठाउँमा हामी गयौ भने हामी पनि जोखिममा पर्न सक्छौ । पहिला त आफू बच्नुपर्छ अनि बचाउनुपर्छ । त्यो हिसाबबाट विज्ञता लिएका छन् तुरुन्त काम गर्नको लागि क्यार्डेको फन्डबाट बिस– बिस हजार क्यास पनि दिएका छौ,’ नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा कैलालीका सभापति जगदीश्वर पण्डितले भने।
थारु परम्परामा आधारित बडघर प्रथा पनि बाढीबाट जोगिने माध्यम बनेको छ। कैलाली र बर्दियाका बाढी प्रभावित थारु समुदायमा यो परम्परा चलन चल्तीमा छ । त्यसै गरी प्रभावित समुदायमा सुरक्षित आवास घर बनेका छन् । सुनाहाफाँटामा पनि ८० लाखको लागतमा आपत्कालीन आवास घर निर्माण हुँदै छ।
विपद्लाई रोक्न सकिँदैन। तर, विपद् न्यूनीकरणका उपाय भने अपनाउन सकिन्छ। जसका कारण विपद्को जोखिम घटाउन सकिन्छ । त्यसैले स्रोतको उपयोग गर्दा वातावरणमैत्री तरिकाले गरिनुपर्छ । बाढी प्रभावित क्षेत्रमा पूर्व तयारी गरिनु पर्छ । यसो गर्न सके प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न सकिन्छ।





