काठमाडौँ – आर्थिक अभावका कारण गतवर्ष रोकिएको गैँडा गणना यसवर्षको अन्तिममा हुने भएको छ। सरकारले बजेट नछुट्याएपछि गत वर्ष हुनुपर्ने गैँडा गणना एक वर्ष पर धकेलिएको थियो।
तर, यस वर्ष भने सरकारले गैँडा गणनाका लागि आवश्यक बजेट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई दिएको छ।
विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गैँडा गणनाका लागि सरकारले रु एक करोड १० लाख विनियोजन गरेको छ । गत वर्ष सरकारले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन।
उनका अनुसार आगामी फागुनदेखि गैँडा गणना गर्नका लागि तयारी भइरहेको छ । नेपालको चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । ती सबै निकुञ्जमा एकसाथ गणना उनको भनाई छ।
हाकाहाकीसँग कुरा गर्दै उनले भने ‘गणनाका लागि सम्बन्धित निकुञ्जहरूमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन गरिएको छ, विभागमा पनि छुट्टै समिति गठन हुनेछ।’
यसका साथै कार्यदलको बैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उपकार्यदल गठन गरी आवश्यक पर्ने सामग्री, बजेटलगायत विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको उनले जानकारी दिए।
गैँडा गणनाका लागि हात्तिको प्रयोग हुने भएकाले हात्तिसारका शाखा अधिकृतको संयोजकत्वमा प्रयोग गर्न सकिने हात्तिका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न अर्को समिति गठन गरिएको सूचना अधिकारी श्रेष्ठले जनाए।
कार्यदलमा साझेदार संस्थासँगै सरोकारवाला निकायका प्रमुख सदस्य छन् भने उपकार्यदलमा तिनका प्रतिनिधि सदस्य छन्। गैँडा गणना हुनु अगाडि आवश्यक उपकरण तथा औषधि किन्ने, घाँसे मैदान व्यवस्थापन, फायर लाइनलगायत नियमित कामको कार्यतालिका अहिले नै निर्माण गरी काम अघि बढाइने श्रेष्ठ बताउँछन् । यसका साथै गैँडा गणना गर्ने प्राविधिकलाई तालिम समेत दिनुपर्ने भएकाले सबै काम माघसम्ममा सकाएर फागुनबाट गणना शुरु गर्ने उनले बताए।
श्रेष्ठका अनुसार गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ। यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ।
सबै निकुञ्जमा गणना गर्न एक महिना लाग्ने श्रेष्ठको अनुमान छ। नेपालमा सबैभन्दा बढी गैँडा चितवनमा छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। गत वर्षको वर्षातमा बाढीले धेरै गैँडा बगाएको र चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९ महिनाको अवधिमा ४१ गैंडा मृत फेला परेका थिए। त्यसैले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको थियो।
पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन्। त्यस बाहेक पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गैँडा पाइन्छ।





