कावासोती – नवलपरासीको एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो।
आइतबार बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पुर्याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले बताए। उक्त खोलाको बाढी पसेर विद्यालयको चार वटा कोठामा क्षति पुर्याएको थियो । विद्यालयको प्राङ्गणका साथै कक्षा १ देखि ४ सम्मका कोठा पूरै हिलो, गिट्टी, बालुवाले तीन फिटसम्म पुरेकोे उनले जानकारी गराए। उक्त विद्यालयमा करीब तीन सय विद्यार्थी अध्ययनरत छन्।
वर्षाले सडक अवरुद्ध
अविरल वर्षापछि खसेको पहिरोका कारण बुलिङटार सडक पनि अवरुद्ध भएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताए । पोखरीदेखि बुलिङटारसम्म जाने सडकको विभिन्न स्थानमा पहिरोले अवरुद्ध पारेकाले यस क्षेत्रका सवारीसाधान चल्न सकेका छैनन्। अर्खला, तल्लो अर्खलालगायत स्थानमा पहिराले राजमार्ग अवरुद्ध बनाएकाले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। रासस





