लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, ६ घर उच्च जोखिममा

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आइतबार बिहान पुनःपहिरो गएको छ। पहिरोले सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ।

मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो।

पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाएको थियो । अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ।

पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो। पहिरो दुई वटा घरको जगमा पुगेको छ।

खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए।

३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि पुनःपहिरो गएको उनले जानकारी दिए। यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उनले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए। ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो। रासस

ताजा समाचार

सम्बन्धित समाचार