काठमाडौँ – ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ। महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो।
महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताए।
“मङ्गलबजारस्थित वडा नं ११ मा ३० हजार लिटरको सो ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ”, उनले भने, “यसैगरी वडा ११ इखाक्ष्य, वडा नं नौ नटोल र वडा नं १६ नकबहिलमा २५ हजार लिटर क्षमताकोे पानी भण्डारण ट्याङ्की बनाउने योजना पारित भइसकेको छ ।” महानगरपालिकाको शहरी क्षेत्रमा पानीको अभाव भएकाले सङ्कटका बोला सो ट्याङ्कीमा भण्डारण गरेको पानीले निकै सहयोग पुग्ने बताइएको छ।
यसैगरी महानगरका अन्य वडा हरिसिद्धि, खोकना र बुङ्मतीको शहरी क्षेत्रमा पनि तीन ट्याङ्की निर्माण गर्ने योजना अघि बढिसकेको जानकारी दिँदै उनले भने, “ती तीन ट्याङ्की निर्माणको काम भने यस चालू आर्थिक वर्षको योजनामा राखेका छौँ। त्यसका लागि रु पाँचदेखि छ लाख सम्म लाग्नसक्ने अनुमान गरिएको छ।”ती ट्याङ्कीमा भण्डारण गरिने पानी आवश्यक परेको समय पिउन मिल्ने गरी स्वच्छ र सफा पानी खरीद गरेर भण्डारण गरिने तर आकाशेपानी भने भण्डारण नगरिने उनले जानकारी दिए।





