कैलालीमा अवैध रूपमा काठ तस्करी बढ्दो

धनगढी–कैलालीमा राष्ट्रिय तथा सामुदायिक वनबाट अवैध रूपमा काठ कटान तथा ओसापसार हुने क्रम रोकिएको छैन।
वनमा भइरहेको अवैध काठ तस्करी रोकथामका लागि डिभिजन वन कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सक्रियता देखाएपनि काठ तस्करी भने बढ्दै गइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दुई दिनमा लुकाइछिपाई राखेको एक सय ७७ कडी, नौ फ्रेम र पाँच गोलिया काठ बरामद गरेको जनाएको छ।

भदौ १० गते गोदावरी नगरपालिका–४ स्थित चुरे राष्ट्रिय वनमा ११४ थान कडी र नौ थान फ्रेम बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उनका अनुसार वनबाटै काठ तस्करी हुने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कडी र फ्रेम बरामद गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–१२, जुगेडाबाट भदौ ९ गते लुकाइछिपाई राखेको अवस्थाबाट ६३ थान कडी बरामद गरेको छ। बरामद सबै काठ डिभिजन वन कार्यालय धनगढी र सब–डिभिजन वन कार्यालय अत्तरियालाई बुझाइएको छ।

प्रहरीले भदौ ८ गते धनगढी उपमहानगरपालिका–११ घोडसुवास्थित अम्बिका टोलबाट पाँच थान सिसमको गोलिया काठ बरामद गरेको बताएको छ।

काठ चोरी तथा निकासी गर्ने कार्यमा संलग्न भएकाहरूको खोजीकार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार