काठमाडौँ – पछिल्लो समय फोहोरमैला व्यवस्थापनमा सरकार तथा सम्बन्धित निकायले चासो नदेखाएको सरोकारवालाहरूले बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित फोहोरमैला व्यवस्थापन र जलवायु परिवर्नन विषयक अन्तक्र्रिर्या कार्यक्रममा वातावरण पत्रकार तथा संरक्षणकर्मीहरूले फोहोर मैला व्यवस्थापनमा नीति नियम भएपनि कार्यान्वयन र अनुगमन भने नभएको गुनासो गरेका छन्।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरु, राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा फाहोर व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय डाक्टर सुमित्रा अमात्य, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उप सचिव ज्ञानेन्द्र पराजुलीलगायत पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाली संचार माध्यमले फोहरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका विषयलाई विशेष महत्वका साथ स्थान दिएमा रचनात्मक उपलब्धी हासिल गर्न सकिने उनीहरूले बताएका थिए।
कार्यक्रममा बोल्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह सचिव पनेरुले फोहोर व्यवस्थापनको क्षेत्रमा भएका त्रुटि सच्याएर विज्ञहरूको सुझाव सहित अघि बढ्न मन्त्रालय तयार रहेको बताएका थिए । सबै तहका स्थानीय निकायलाई वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा जिम्मेवार बनाउने गरी गृहकार्य थालिएको उनको भनाई छ।
त्यसैगरी वातावरण विज्ञ डाक्टर सुमित्रा अमात्यले कार्यपत्र प्रस्तुत गर्दै दैनिक जीवनमै फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणलाई जोड्न सकेमात्रै यसले सार्थकता पाउने बताएकी थिइन । हाल सरकारी ऐन नियम र कार्यक्रम तथा आम नागरिकको व्यवहारबीच गहिरो खाडल देखिएको उनको भनाई छ । कार्यक्रममा सहभागी पत्रकारहरूले सरकार आफैँले बनाएका ऐन नियमको कार्यान्वायन र अनुगमनमा ध्यान नदिँदा वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा ठोस उपलब्धि हुन नसकेको टिप्पणी गरेका थिए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उप सचिव ज्ञानेन्द्र पराजुलीले सरकारी ऐन कार्यान्वयनमा मन्त्रालयगत समन्वयको अभाव भएको स्वीकार गर्दै आगामी दिनमा फोहोर न्यूनीकरण तथा व्यवस्थापनको विषयमा सम्बन्धित उद्योगलाई जिम्मेवार बनाउने गरी काम थालिने बताएका थिए।





