काठमाडौँ– खानेपानीमा माइक्रोप्लास्टिक बढ्दै गएता पनि मानव स्वास्थ्यमा पर्ने सम्भावित प्रभावको प्रमाणहरू फेला नपरेको बताइएको छ।
विश्व स्वास्थ्य संगठनले प्रतिवेदन सार्वजनिक गर्दै प्रमाणहरू फेला नपरेको जानकारी दिएको हो।
तर खानेपानीमा माइक्रोप्लास्टिकको बढ्दो सघनताले उब्जाएको स्वास्थ्य जोखिमबारे थप अनुसन्धान आवश्यक भएको संगठनले जनाएको छ।

माइक्रोप्लास्टिक धारा र बोतलको पानीमा पनि पाइने भएकाले त्यसले मानव स्वास्थ्यमा पर्ने सम्भावित प्रभाव नाप्न कठिनाइ हुने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेखित छ।
एक सय ५० माइक्रोमिटरभन्दा ठूला कणहरू मानव शरिरमा प्रवेश गर्ने सम्भावना कम रहेको बताइएको छ। तर ‘नानोसाइज’ का कणहरू शरिरमा सोस्ने र त्यसको वितरण सम्बन्धी तथ्यांक सिमित भएको विज्ञहरू बताउँछन्।
अनुसन्धानकर्ता बु्रसि जोडन भने प्लास्टिकको बोलतमा पानी खरिद गर्दा चिन्ता गर्नु नपर्ने बताउँछन्। तर उनले यस विषयमा थप अनुसनधान हुनुपर्नेमा जोड दिए।
‘हामीसँग भएको तथ्यांकको आधारमा हामीले कम खतरा छ भनेका हौं तर भविष्यमा कुनै खतरा हुँदैन् भन्ने चाँहि होइन्,’ उनले भने।
यस समस्याको मुख्य समाधान भनेको प्लास्टिकको उत्पादन कम गर्ने रहेको उनले बताए। प्लास्टिक कस्तो र कसरी उत्पादन गर्ने साथै कसरी प्रयोग र व्यवस्थापन गर्नेबारे पुनर्विचार गर्नु आवश्यक रहेको उनको भनाइ छ।
ग्रिनपिस युकेको अभियानका प्रमुख लुइ एज भने प्लास्टिकले समुद्री जीवनमा हानि पु-याएको र प्लास्टिक बनाउनलाई आवश्यक जैविक इन्धनले जलवायु संकटमा भूमिका रहेको भन्दै यसलाई कम गर्नुपर्ने बताउँछन्।
विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार सरकार र व्यवसायहरूले प्लास्टिक उत्पादन तुरून्तै घटाउनुपर्ने उनको भनाइ छ।
मानव निर्मित माइक्रोप्लास्टिक प्लास्टिकका सूक्ष्म कणहरूबाट समुद्रका कछुवा र व्हेलदेखि लामखुट्टे र समुद्री पक्षी पनि प्रभावित भएका छन्।
-द गार्जियनबाट अनुवादित





