महेन्द्रनगर – माहाकाली नगरपालिकाका जनप्रतिनिधिले जोगबुडा नदी र महाकाली नदीले गर्ने कटानी रोकथामको माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएका छन्।
जोगबुडा नदी र महाकाली नदीले हरेक वर्ष तीव्र रुपमा कटानी गर्दै आउँदा नजिकका बस्ती प्रभावित भएकाले तटबन्धको व्यवस्था गर्नुपर्ने माग गर्दै जनप्रतिनिधिले मन्त्री पुनलाई ज्ञापनपत्र बुझाएका हुन्।
वर्षायाममा पानी पर्दा नदीमा बाढी आउने भएकाले नदी काटानीको जोखिम रहेको महाकाली नगरपालिकाका उपप्रमुख चिनि गिरीले बताइन्। ‘वर्षायाममा पानी पर्दा नदीमा आएको पानी गाउँ पस्ने हो भन्ने चिन्ताले हामी जनप्रतिनिधि र गाउँलेहरूलाई सताउने गर्छ, नदी कटानी र बाढीको त्रासले नदी किनारमा बस्ने गाउँलेहरू रातभरि जाग्राम बस्नुपर्ने अवस्था छ,’ उनले भनिन्।
माहाकाली नगरपालिकासँग भएको सम्पूर्ण बजेट लगाएर पनि जोगबुडा र महाकाली नदीको कटानी रोकथामका लागि तटबन्ध गर्न सकिने सम्भावना नभएको उनले बताइन्। ‘नगरपालिकाको सम्पूर्ण बजेट लगाएर पनि यहाँको नदी कटानीको रोकथाम गर्न सकिदैन्, त्यसैले मन्त्रालय धाइरहेका छौं,’ उनले भनिन्,‘नदी कटानीको समस्यालाई लिएर उर्जामन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएका छौं, उहाँले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’
यसैगरी माहाकाली नगरपालिकाका जनप्रतिनिधिले नेपाल–भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष हुँदा समेत सन्धि अनुसार भारतले दोधरा चाँदनीलाई सिँचाईका लागि दिनुपर्ने पानी नदिएकाले पहल गरिदिन समेत मन्त्री पुनसँग माग गरेका छन्। ‘सन्धि अनुसार भारतले १५ किलोमिटर नहर निर्माण गरेर माहाकाली नगरपालिकालाई ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाईका लागि पानी दिनुपर्ने हो, अहिलेसम्म नहर निर्माणका लागि भारतले आनाकानी गर्दै आएको छ,’ माहाकाली नगरपालिकाका प्रमुख बीरबहादुर सुनारले भने,‘यो समस्या पनि मन्त्री ज्यूसँग राखेका छौं, उहाँले पहल गर्छु भनेका छन्।’
महाकाली नदी र जोगबुडा नदीबाट माहाकाली नगरपालिका पुरै प्रभावित हुने गरेको उपप्रमुख गिरीको भनाई छ । उनका अनुसार जोगबुडा नदीबाट वडा नम्बर ३ र ४ पुरै प्रभावित छ। यसैगरी वडा नं. ६ पूरानो वस्ती, वडा नं. ७ को कंजभोज, वडा नं. ९ को दानुटोल, वडा नं. ८ को जरखा टोल, धामी टोल, सुन्दरनगर, टिपीनटोल वासघाडी र वडा नम्बर १० को खड्का टोल, आमभोज, कुतियाकबर र सुर्खेति टोल जोगबुडा नदीबाट प्रभावित हुने गरेको छ। त्यस्तै वर्षायाममा पानी पर्दा महाकाली नदीले वडा नम्बर १ को स्याउले बजार, ढकनाघाट, माताटोल, वडा नम्बर ४ को झोलुंगे पुल, वडा नं. २ को मायापुरी, वडा नं. ६ को गुरुग टोल, वादी टोल र वडा नं. ७ को जंगलाट र संसारीमाई टोल प्रभावित हुने गरेको छ।





