चितवन– नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन्।
मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएको नारायणगढ मुग्लिन सडक आयोजना ले जानकारी गराएको हो। ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र बाँकी रहेको बताइएको छ।
औपचारिक रुपमा पुल सम्पन्न हुन र उद्घाटन हुन भने केही समय लाग्ने बताइएको छ।
सवारीसाधनले ती स्थानमा दुवै पुल प्रयोगमा ल्याएका छन्। ती पुल लामा कन्स्ट्रक्सनले निर्माण गरेको हो। सँगै सोही सडकको जलवीरेमा रौताहा कन्स्ट्रक्सनले निर्माण थालेको पुल भने ३५ प्रतिशत मात्र सम्पन्न भएको छ।
सो पुलको पहिरोलगायतका कारण काममा कठिनाइ भएकाले आउँदो डिसेम्बरसम्म समय थप गरिएको छ। जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ, फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भएको हो। जलवीरे पुल ८० मिटर लामो छ। मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर रहेको छ।
जलवीरे पुल १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत १३ करोड छ। सो सडक खण्डमा अझै १५ पुल निर्माण गर्नुपर्ने हुन्छ। ती पुल २०७४ साल कात्तिकमा २२ महीनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो।
सो सडकखण्डको गत वर्ष विस्तारको काम सम्पन्न भएको हो। सडक ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल छ मिटर मात्र चौडा रहेकाले सबै पुल नयाँ निर्माण गर्नुपर्ने भएको हो ।
पहिलो चरणमा चारवटा पुल निर्माणको ठेक्का लगाइएको थियो। बाँकी पुल डिजाइनसहित ठेकेदारले बनाउने गरी ठेक्का दिइँदै छ । सो सडक हुँदै दैनिक १० हजार सवारीसाधन गुड्ने गर्दछन्। राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो ।





