काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण पोस्ट
-आज अन्नपूर्ण पोस्टमा मकै सिध्यायो फौजी किराले भन्ने शीर्षकमा रविन भट्टराई, प्रदीपचन्द्र राई र शिवप्रसाद ढुंगानाको समाचार छापिएको छ। अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकै बाली सखाप पारेको छ। किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन्।ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ।
-धरहरा पुर्निर्माणले सा-यो गोश्वारा हुलाक भन्ने शीर्षकमा उपेन्द्र अर्यालको समाचार छापिएको छ। धरहरा पुनर्निर्माणका कारण सुन्धाराको गोश्वारा हुलाक विस्थापित भएको छ। गोश्वारा हुलाक डिल्लीबजारस्थित हुलाक विभागको भवनमा सरेको छ। गोश्वरा हुलाक ५० वर्ष अघिदेखि सुन्धाराबाट सञ्चालित थियो। हुलाक भवन भएका ठाउँमा धरहराको तीन तले अण्डरग्राउण्ड पार्किङ बन्ने छ। त्यहाँ १५ रोपनी जमिन र हुलाक कार्यलयको तीनवटा भवन छन्।
नागरिक
-आज नागरिकमा देख्दा पनि राम्रो, स्वाद पनि मिठो भन्ने शीर्षकमा धनबहादुर बुढाको समाचार छापिएको छ। स्याउले राम्रो रङ लिएको छ। बोटमै स्याउ पाकेर बगैंचा राताम्य छ। पाकेको राम्रो स्याउ टिपेर बजारसम्म लैजान सके मूल्य पनि राम्रो पाइन्छ, जुम्ली स्याउको गुणस्तर र पहिचान पनि फैलिन्छ। जुम्ला चन्दननाथ–३ का स्याउ किसान रामकृष्ण बुढ्थापाले भन्े, ‘परिपक्व स्याउ बजारसम्म पु¥याउँदा किसान– व्यापारी कसैले धोका खानुपर्दैन।’
-क्षेत्राधिकार विपरीत साढे आठ सय सडक संघमा भन्ने शीर्षकमा समाचार छापिएको छ। संघीय सरकारले क्षेत्राधिकार विपरीत साढे आठ सय सडकको जिम्मेवारी अझै आफैंसँग राखेको छ। प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने योजना संघ आफैंले राख्दा एकातिर कानुन उल्लंघन भएको छ भने अर्कोतर्फ मनलाग्दी रूपमा योजना छनोट गर्दा विनियोजित बजेट खर्च नहुने देखिएको छ।
-माथिल्लो मोदीको निर्माण अर्को वर्षबाट भन्ने शीर्षकमा समाचार हिमाल लम्सालको छापिएको छ। सरकारले चालु आर्थिक वर्षमा ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको बोलपत्र लगायत सम्पूर्ण काम सकेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ।
-चाडपर्व नजिकिँदै गर्दा अनुगमन तीव्र भन्ने शीर्षकमा समाचार सरिता श्रेष्ठको छापिएको छ। चाडपर्व नजिकिएको छ। बजार भाउ अकासिएको छ। दैनिक उपभोग्य सामानले उपभोक्ताको ढाड सेकाइरहेको छ। खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन्। उपभोक्ताको गुनासो सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनको कार्यलाई तीव्रता दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको संयोजकत्वमा सदरमुकाम धादिङबेसी र राजमार्ग क्षेत्रमा अनुगमन गरेको छ।
-भैरहवाबाट १५ अर्ब रूपैयाँको अन्न र तरकारी आयात भन्ने शीर्षकमा समाचार रेखा भुसालको छापिएको छ। सरकारी तथ्यांकले हरेक वर्ष धान र तरकारीको उत्पादन बढेको देखाए पनि भारतबाट हुने अन्न आयात घटेको छैन। नेपालीको मुख्य खाना दाल–भात–तरकारीका लागि भारतकै मुख ताक्नुपर्ने अवस्था छ। भन्सारको तथ्यांकले चामल, मकै र तरकारीको आयात बढेको देखाँउछ।
-सुकिलुम्बाको धावनमार्ग यही वर्ष कालोपत्रे भन्ने शीर्षकमा समाचार भीम चापागाईंको छापिएको छ। इलाम नगरपालिका–९, गोलाखर्कछेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबको १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ।





