सडकमा भएका कामबाट सन्तुष्ट हुने अवस्था छैन: उपप्रमुख खड्गी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अहिलेसम्म सडकमा भएका कामबाट सन्तुष्ट हुने अवस्था नरहेको बताएकी छन्।

सडकमा भएका खाल्टा, सडक पेटी, ढल र खानेपानीको अधुरा कामका बारेमा उल्लेख गर्दै उपप्रमुख खड्गीले यातायात आवतजावत गर्न समस्या भएको बताएकी हुन्।

त्यसबाहेक काठमाडौँमा डेङ्गु रोग फैलाउने लामखुट्टे त्यसै खाल्टामा जमेको पानीबाट आएको हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन आवश्यक रहेको उनले बताइन्। ‘ढिला नगरी सडकका खाल्टा तत्काल पुर्न पर्छ,’ उनले भनिन्।

त्यसैगरी विकास साझेदारका अधिकारीबीच सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले, सहरी व्यवस्थापन र सुबिधा वितरणका लागि साझेदारबीच समन्वय हुनुपर्छ भन्ने एजेण्डा बैठकमा मात्र सीमित भएको निष्कर्ष निकालेको छ।

उक्त बैठकमा बोल्दै नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक थिरकुमार खत्रीले सडक निर्माण गर्ने क्रममा आफूलाई सूचना दिने भए त्यस क्षेत्रबाट वितरण हुने बिजुलीलाई भूमिगत बनाउने प्रवन्ध गर्ने बताए।

गत साउन २९ गते महानगरका प्रमुखको अध्यक्षतामा बसेको बैठकले भदौ मसान्तभित्र सडकसँग सम्बन्धित मर्मत सम्भारका काम सक्ने गरी ७ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको थियो।

बैठकमा त्यस निर्णयबमोजिम काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना उपनिर्देशक मिलन शाक्यले महानगरलाई कार्ययोजना बुझाएका छन्।

त्यस्तै आउँदो दशै अगावै ११ वटा सडक खण्डमा बिस्तारको काम सम्पन्न गर्ने योजना राखिएको छ। सडक बिभागले जेब्रा क्रसमा चिन्ह लगाउने काम सम्पन्न गर्ने, केवल तथा इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थापनमा जिम्मेवार बनाउने, पोल र सडकमा जथाभावी लत्रिएका तारलाई वातावरण व्यवस्थापन बिभागले तार काट्ने प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ।

बैठकमा आकाशे पुलको मर्मत सम्भार, बोटबिरुवाको छाँटकाँट, सडक किनारामा भएका सरकारी कार्यालय आकर्षक बनाउने कामलाई महानगरले अघि बढाएको सहरी शुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी गराए।

ताजा समाचार

सम्बन्धित समाचार