अरुणखोला पुल मर्मतपछि पुलबाटै यातायात सञ्चालन

कावासोती– ट्रक ठोकिँदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै यातायात सञ्चालन गरिएको छ।

गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो। मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।

गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए रातिबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीले जनाएको छ।

सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो। पुल भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो। पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो।

सडक विभागले ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ भएपछि पुललाई छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी काम गरको थियो। चाडपर्वको समयसमेत भएकाले तदारुकताका साथ छोटो समयमै पुल मर्मत सम्पन्न गरिएको बताइएको छ। विगतका वर्षमा यहाँका पुल भाँचिदा महिनौसम्म बन्न नसक्दा यात्रुले सास्ती झेलेका थिए।

जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन्। पुल बनाएको समेत लामो समय भएकाले सामान्यरूपमा सवारीले ठक्कर दिँदासमेत धेरै क्षति हुने गरेको छ। सडक विभागले पुलको सुरक्षाका लागि पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ (पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार) समेत बनाएको छ। तर पनि विभिन्न समयमा यहाँका पुलमा सवारीको ठक्करबाट क्षति हुँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार