कञ्चनपुर– भीमदत्त नगरपालिका– १ वैजनाथ सामुदायिक वनमा पर्छ, बाह्रकुण्डा। जैविक महत्त्वको बाह्रकुण्डाले अचेल संरक्षण पाएको छ। स्थानीयको मिहिनेतले सङ्कटमा परेका बाह्र ओटा कुण्डहरू संरक्षित भएका हुन।
‘दुई वर्ष पहिले र अहिलेको धेरै फरक छ। दुई वर्ष अगाडि त्यहाँ एकदम झाडी, जंगल थियो। त्यो हामीले सरसफाइ गर्यौ। अहिले त्यो तालहरूलाई सरसफाइ गरेर पर्खाल बनाएर आठ सय पन्ध्र मिटरको पदमार्ग बन्यो,’ भीमदत्त नगरपालिका–१ का पवन कुँवरले भने, ‘दुई वटा पिकनिक स्पट बने। हामीले यसलाई नमुना वडा नम्बर १ बनाउने लक्ष्य लिएका थियाैँ। यसमा लगभग हामी सफल नै भयाैँ।’

लोप हुने अवस्थामा पुगेका कुण्डहरूको संरक्षण लागेको स्थानीय दानबहादुर विष्टले बताए। ‘मुहानहरू पनि सुके। त्यसकारणले तालतलैया पनि सुक्छन् की भन्ने हामीलाई डर थियो। जे भए पनि जनसमुदायको सल्लाहले सबैको सहयोगले गर्दा खेरी यो क्षेत्र राम्रै भयो,’उनले भने।
बाह्रकुण्डा संरक्षणको कथा लोभ लाग्दो छ। विगतमा यहाँका सबैजसो कुण्डहरू पानीले भरिभराउ हुन्थ्ये। पछि वन विनाशको चपेटामा पर्याे। मानवीय गतिविधिकै कारण कुण्डहरू अर्थात् तालहरू पनि सुक्न थाले। यसको असर वन्यजन्तु लगायत स्थानीयसम्म पर्याे। यस्तो असरबाट जोगिन स्थानीयहरूले नै संरक्षणको अभियान थाले। यसको नेतृत्व रविन्द्र बहादुर कुँवरले लिए। विगतमा सङ्कटमा परेका कुण्डहरूमा अचेल पानी भरिँदै छ। ‘पहिला आकार घटेका थिए। अहिले हेर्दाखेरी पुरानै अवस्थामा हामीले पार्न सक्यौ । खुसी लागेको छ,’ वैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्रबहादुर कुँवरले भने।
बाह्रकुण्डा क्षेत्रमा तलदेखि माथिसम्म केही दूरीमा १२ वटा तालहरू लस्करै भेटिन्छन्। विगतमा मिचाहा झारले पुरिएका गौरा ताल, गहिरो ताल, जामुनको ताल, त्रिशूल लगायतका तालले अचेल पुनर्जीवन पाएका छन्। पुरिएका तालहरू उत्खनन गरी आकार दिइएको हो। ऐतिहासिक कुण्डहरू संरक्षणका लागि वरिपरिबाट पर्खाल निर्माण गरिएको छ। यी तालहरूमा वर्षादको पानी समेत जम्मा हुन्छ। केही तालका भने आफ्नै मुहान छन्। अब सबै तालमा बाह्रै महिना पानी भरणको व्यवस्था पनि गरिएको छ। बाह्रै वटा कुण्डहरूमा बोरिङ मार्फत पानी भरण गरिने छ। यसले चुरे क्षेत्रमा पानी पुनर्भरणमा सघाएको छ । वन क्षेत्रका वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको स्रोत बनेको छ।
‘वन्यजन्तुहरूलाई पनि पानीको सुविधा हुन्छ। किनकी यहाँ मकै, खेतीवाली सबै सखाप गर्छन् । अब त्यही पानी पायो भने त उनीहरू आउँदैन यता तिर। त्यही भएर त्यो तालको संरक्षण गर्न पर्यो,भीमदत्त नगरपालिका–१ की मायावतीदेवी विष्टले भनिन्। स्रोतको संरक्षण गर्न सके सबैलाई फाइदा हुन्छ। स्थानीयबासिन्दाले यही कुराको मनन गरे र बाह्रकुण्डाको संरक्षणमा लागे। अनि यही संरक्षणको फाइदा स्थानीयले नै लिन पाएका छन्।
बाह्रकुण्डा संरक्षणको लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, भीमदत्त नगरपालिका, वैजनाथ सामुदायिक वन, डिभिजन वन कार्यालय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक सहयोग गरेका छन्। यस अभियानमा स्थानीयको सक्रियता प्रशंसनीय छ। उनीहरूको जाँगरले नै यहाँ परिवर्तन सम्भव भएको हो। उपभोक्ता समिति मार्फत गरिएको काममा स्थानीय जनशक्ति परिचालित भएको छ। जसले गर्दा उनीहरू आर्थिक रूपमा पनि लाभान्वित भए।
‘काम भइरहेको दौरानमा पनि यहाँको समुदायलाई धेरै फाइदा भएको छ। करोडको बजेट यहाँ आउँदा सबै यो गाउँवासीको लागि नै लाभदायक भएको छ । यहाँ सबै मिस्त्रीहरू, लेबरहरू सबैले काम पाएका छन्। गाउँबाट पैसा बाहिर जाँदैन। एउटा त्यो फाइदा छ भने भोलि यहाँ बृहत् रूपमा पर्यटकीय हिसाबले यसको विकास भइसकेपछि यहाँ अति नै फाइदा हुन्छ जस्तो महसुस भइरहेको छ,’ भीमदत्त नगरपालिका १ का एनआर जोशीले भने।
वैजनाथ सामुदायिक वन २ सय २८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुंगी र जडीबुटी पनि यही वनमा पाइन्छन्। बाह्रकुण्डाकै एउटा कुण्ड, सिद्धवैजनाथ ताल स्थानीयका लागि पानीको गतिलो स्रोत बनेको छ। यही तालको पानी खानेपानी र सिँचाईमा प्रयोग हुन्छ। यो स्थानीयको सक्रियतामा ताल संरक्षण र व्यवस्थापनका कारण सम्भव भएको हो । अनि बाह्रकुण्डाले पाएको संरक्षण स्थानीय सरकारका लागि पनि सिकाई भएको छ।
‘अहिले वडाले पनि कार्यक्रमहरू छुटाएका छौँ। चुरेमा पर्ने यहाँको सबै भन्दा राम्रो भनेको त्यही १२ वटा कुण्ड छन्। कुण्डको लागि वडाले पनि त्यसमा केही रकम छुटाएका छाैँ। पर्यटनका लागि आवश्यक कुराहरू डिजाइन गरेका छौ अब हामी गर्छौ त्यो काम,’ भीमदत्त नगरपालिका १ का वडा अध्यक्ष आशेफ कुँवरले भने। आफूले पनि चुरेको संरक्षण, वन, वन्यन्तु संरक्षणसम्बन्धी योजना बनाइरहेको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट बताउँछन्।
‘राष्टपति चुरे तराई मधेस परियोजना छ उहाहरूसँग पनि सहकार्य गर्छौ र सामुदायिक वन उपभोक्ता समितिदेखि लिएर राष्ट्रिय वन कार्यालय लगायत सरोकारवाला विकासका साझेदारसँग हामी सहकार्य गरेर चुरेको संरक्षण गर्छौ, प्रवद्र्धन गर्छौ, चुरेसँगै जोडिएका सामुदायिक वन भित्र हामी जीवजन्तुसँग जोडिएका विषयवस्तुमा हामी केन्द्रित हुन्छौ । खास गरी पर्यापयर्टनको सन्दर्भमा हामी काम गर्ने योजना बनाइरहेका छौ,’ उनले भने।
२४ हेक्टर क्षेत्रफलमा फैलिएको बाह्रकुण्डलाई सुन्दर बनाउने काम भइरहेको छ। दुई वटा वनभोज स्थल तयार भइसकेका छन्। शौचालय बनिसकेका छन्। अवलोकन गर्न सहज होस भनेर ताल वरिपरि पैदल मार्ग निर्माण कार्य जारी छ। संरक्षण पाएका केही कुण्डहरूमा माछा पालनको योजना छ। वन समूहको मातहतमा रहने गरी उप समिति मार्फत पर्यटनका क्रियालाप सञ्चालन हुनेछन्।
बाह्रकुण्डमा आएको परिवर्तन चुरे संरक्षणको आधार बनेको छ। विनाशको मुखमा पुगेका कुण्डहरू संरक्षित भएका छन्। प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षणमा टेवा पुगेको छ। स्थानीय बासिन्दाका लागि आम्दानीको बाटो खुलेको छ। स्रोतको संरक्षणबाट हुने लाभको सन्देश फैलिएको छ।





