नेपालगञ्ज– नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ ।
भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ।
चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जले जनाएको छ।
यस आर्थिक वर्षको साउन र भदौको पहिलो हप्तासम्म मात्रै भारतबाट अनाधिकृतरुपमा नेपाल भित्र्याइएका चार हजार ९०० बोइलर चल्ला, एक हजार २५० कोइलर चल्ला र तयारी अवस्थाका कुखुरा ७९६ वटा नष्ट गरिएको छ। यो अवधिमा पाँच हजार ५०० माछाका भुरासमेत नियन्त्रणमा लिएर नष्ट गरिएको छ।
सशस्त्र प्रहरीको बल नेपाल, गण हेड क्वाटर नम्बर ३० गण बागेश्वरी र मातहतका पोष्टबाट खटिएका सुरक्षाकर्मीले अवैधरुपमा नेपाल ल्याउँदै गरेका पक्षीजन्य वस्तु नियन्त्रणमा लिने गरेका छन्।
सशस्त्र प्रहरीको बलको गस्ती टोलीले महेन्द्रनगर र बालेगाउँ क्षेत्रबाट आइतबार मात्रै २० वटा कार्टुनमा राखेर ल्याउँदै गरेको दुई हजार वटा चल्ला नियन्त्रणमा लिएको हो।
ह्याचरी सङ्घ नेपालले भारतीय कुखुरा नेपाल भित्रिन नदिनका लागि नियन्त्रण गर्ने निकायलाई सानो चल्ला प्रतिवटा पाँच र ठूलो तयारी कुखुरा प्रतिवटा ५० प्रोत्साहन दिने निर्णय गरेपछि यसको सकारात्मक प्रभाव परेको बताइएको छ। रासस





