काठमाडौँ – हाल काठमाडौँ महानगरपालिका ४ धुम्बाराहीस्थित शंखपार्कको स्तरोन्नति भइरहेको छ। पार्कलाई व्यवस्थित तथा आधुनिक बनाउने काम भइरहेको छ।
तर, त्यहाँ पुग्ने जो कोहीको पनि प्रश्न यो छ कि स्तरीकरण भनेको पुरानो संरचनालाई मेटाएर कंक्रिटयुक्त संरचना बनाउनु हो ? स्तरीकरणको नाममा शंखपार्कमा कंक्रिट नै कंक्रिट थुपारिएको छ।
दुवो भएको चउर अहिले कंक्रिटले ढाकिएको छ। पार्कमा रोपिएको फूल जोगाउन भन्दै २ फिट भन्दा अग्लो ईटाको पर्खाल लगाइएको छ। कामनपाले तीन करोड चार लाख रुपैयाँको लागतमा शंखपार्कलाई व्यवस्थित गर्ने गुरुयोजना बनाए पनि वातावरणलाई भने खासै ध्यान दिएको पाइँदैन।
पार्कको गुरुयोजना वातावरण व्यवस्थापन विभागका वरिष्ठ इन्जिनियर रविन्द्रकुमार राई, आर्किटेक्ट प्रमिला पराजुली र इन्जिनियरहरू राजेन्द्र डंगोल, उमेश पटेलले तयार पारेपनि पार्कमा रहेको रूखले पानी सोस्ने जमिन समेत नहुने गरी कंक्रिटले भरिएको छ।





