काठमाडौँ– राष्ट्रिय वनमा सुचीकृत भएका देशभरका वनको हालको अवस्था, वनको नाप नक्सा, क्षेत्रफललगायतको विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई निर्देशन दिइएको छ।
आइतबार बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले सो निर्देशन दिएको समितिका सदस्य भवानी प्रसाद खापुङले हाकाहाकीलाई बताए।
‘बैठकमा राष्ट्रिय वनको सम्पूर्ण रिपोर्ट मागिएको छ,’ उनले भने।
वनसम्बन्धी ऐन र भूमिसम्बन्धी ऐन पारित भएको एक हप्तामा समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनको अद्यावधिक लागतको विवरण उपलब्ध गराउन माग गरेको हो।
राष्ट्रिय वन अतिक्रमणमा परेको समाचारहरू बाहिरिएपछि विवरण माग्ने निर्णय भएको खापुङको भनाइ छ । समितिले वनको वर्गीकृत अवस्था पनि उपलब्ध गराउन पनि निर्देशन दिएको उनले जानकारी दिए।
खापुङले भने, ‘हाल वन नै रहेको, झाडी रहेको र अतिक्रमणमा पर्न सक्ने सम्भावना भएको वनको सम्पूर्ण विवरण पनि माग गरिएको छ।’





