काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भित्री ३ वटा वडाको घरेलु फोहोरलाई कुहिने र नकुहिने छुट्याएर संकलन गर्न शुरु गरेको छ।
आइतबारबाट महानगरले १२, १८ र २१ वडाको घरेलु फोहोरलाई कुहिने र नकुहिने छुट्याएर संकलन गर्न सुचारु गरेको हो।
छुट्याइएको फोहोरमध्ये आइतबार, मंगलबार, बिहीबार र शनिबार हप्ताको ४ दिन कुहिने र सोमबार र बुधबार २ दिन नकुहिने फोहोर संकलन गरिने महानगरले जनाएको छ ।
यस विषयमा जानकारी दिनका लागि आज बिहान वडा १८ मा -यालीको आयोजना गरिएको थियो।
-यालीमा सहभागि वडा १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलले कुहिने फोहोर लिन हरियो रङ्ग लगाइएको र नकुहिने फोहोर लिन रातो रङ्ग लगाएको गाडी पठाइने जानकारी दिए। घरायसी कामबाट उत्पादन भएको कुहिने फोहोर छुट्टै भाँडामा जम्मा गर्नु र नकुहिने फोहोर छुट्टैमा राख्न वडाध्यक्ष महर्जनले आग्रह गरे।
उक्त वडामा फोहोरलाई श्रोतमा तह लगाउन कौसी तरकारी खेती तालिम दिइएको छ भने कुहिने फोहोरलाई मल बनाउन कम्पोष्ट बिन प्रयोग विधि पनि सिकाइएको महानगरले जनाएको छ।
वातावरण व्यवस्थापन विभागका अनुसार आइतबार मात्रै १८ वडाका ७५ जनाले बिन खरिद गरेका छन्।
वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले कुहिने र नकुहिने फोहोरलाई छुट्याएर राखिदिएमा छुट्टाछुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्न सहज हुने बताए।
नमूनाका रुपमा ३ वटा वडाबाट संकल्न भएको कुहिने फोहोर ल्याण्डफिल्ड साइटमा नपठाई मलका रुपमा विकास गर्ने जानकारी दिए। टेकु ट्रान्सफर साइट नकिज जैविक फोहोर राख्ने खाल्टो तयार भइसकेको उनको भनाइ छ।
श्रेष्ठले भने, ‘यो अभ्यासबाट परिणाम देखिन थालेपछि क्रमशः प्रविधिसँग अन्तरसम्बन्धित बनाएर फोहोर व्यवस्थापनको दिगो समाधान खोज्छौं।’
महानगरको तत्कालको प्रयास भनेको भान्छाबाट फोहोर व्यवस्थापनमा सहभागितामुलक समाधान खोज्नु रहेको उनले प्रष्ट पारे।
काठमाडौँ महानगरबाट उत्पादन हुने दैनिक करिव पाँच सय १६ मेट्रिक टनसहित उपत्यकाबाट दैनिक करीब एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ।
काठमाडौँबाट दैनिक उत्पादन हुने फोहोर नगरपालिकाहरूसँगै केही निजी कम्पनी तथा गैर सरकारी संघसंस्थाले संकलन र ढुवानी गरेर अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट पु-याउँदै आएका छन्।
संकलित फोहोरमध्ये नेम्सेम्याकले ३ मेट्रिक टन जैविक फोहोरलाई मल बनाउँदै आएको महानगरको भनाइ छ।
हाउस होल्ड फोहोर संकलन प्रणालीबाट संकलित फोहोरको करिब ६० प्रतिशत जैविक फोहोरलाई कम्पोष्ट प्लान्टको माध्यमबाट कम्पोष्ट मलमा रुपान्तरण गर्ने, नकुहिने करिब ४० प्रतिशतमध्ये ३० प्रतिशत कवाडीको रुपमा पुनः प्रयोग गरी विक्री वितरण गर्ने महानगरको योजना छ।
त्यस्तै बाँकी रहेको १० प्रतिशत कामै नलाग्ने फोहोरवस्तुलाई मात्र अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटमा पु-याउने लक्ष्यमा महानगर छ।





