प्रभावकारी बन्दै ‘लेजर गन’, अठार सय बढी सवारी कारबाहीमा

काठमाडौँ– चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा तीव्र गतिमा सवारी चलाउने १८ सय बढी सवारी साधन कारबाहीमा परेका छन् ।‘लेजर गन’ ले सवारी साधनको गति मापन गर्न थालेपछि हालसम्म १८ सय ९ सवारी कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

जोखिमयुक्त मानिने उक्त सडक खण्डमा ‘लेजर गन’ को प्रयोग गर्न थालेसँगै दुर्घटनामा पनि कमी आएको महाशाखाको भनाइ छ।महाशाखाका प्रवक्ता एसपी रवी कुमार पौडेल दुर्घटनाको मुख्य कारण सवारी साधनको गति तीव्र हुनु बताउँछन्।‘दुर्घटनाको मुख्य कारण भनेको सवारी साधनको स्पीड हो, लेजर गनको प्रयोग पश्चात दुर्घटना धेरै मात्रामा न्यून भएको छ,’ पौडेलले भने।

‘लेजर गन’ को प्रयोगले सवारी साधनको तीव्र गतिको परीक्षण दैनिक रुपमा भएकोले दुर्घटना न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको महाशाखा बताउँछ।निर्माण सम्पन्न भएसँगै कलंकी –कोटेश्वर सडकमा दुर्घटना बढ्न थालेपछि महाशाखाले गत जेठ २८ गतेदेखि ‘लेजर गन’ को प्रयोगबाट सवारी साधनको गति मापन गर्न थालेको हो।हाल महाशाखासँग ३ वटा ‘लेजर गन’ सञ्चालनमा रहेका छन्। यसअघि पनि महाशाखाले ‘राडर गन’ प्रयोग गर्दै आइरहेको थियो । तर, ‘राडर गन’ को तुलनामा ‘लेजर गन’ अत्याधुनिक भएकोले सवारी साधनको गति मापन गर्न सहज भइरहेको महाशाखाको भनाई छ।

महाशाखाले उक्त सडकको मुख्य लेनमा प्रतिघण्टा ५० किमी र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किमी सवारीसाधनको गति निर्धारण गरेको हो । ‘तोकिएको भन्दा तीव्र गतिमा सवारी साधन चलाएमा लेजर गनले रातो सिग्नल देखाउँछ अनि हामीले कारबाही गर्छौ,’ प्रवक्ता पौडेलले बताए।कारबाहीमा परेका सवारी साधनलाई ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ अनुसार कारबाही भइरहेको छ। तोकिएको मापदण्ड भन्दा तीव्र गतिमा सवारी साधन चलाउन नपाउने नियम उक्त ऐनमा उल्लेख गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार