प्रदेश २ मा ‘हरित प्रदेश’ अभियान शुरु

सप्तरी– प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ।

वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिबार एकै दिन पाँच हेक्टर जग्गामा दुई हजार २०० बिरुवा रोपेर अभियान शुरु गरिएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि शुरुआत गरेको ‘हरित प्रदेश अभियान’अन्तर्गत अभियान शुरु गरिएको बताइएको छ। मन्त्रालयले १९१.२२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न लागेको छ।

सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा विवादमा रहेको सागरनाथ वन विकास परियोजनामा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वनजङ्गलको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं २ मा तीन लाख छ हजार बोटबिरुवा रोप्ने योजना लिएको छ।

सरकारको नीति तथा कार्यक्रमअनुसार हरित प्रदेशको कल्पनासहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानालासहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

सप्तरी जिल्लामा हाल १६ प्रतिशत मात्र वन क्षेत्र छ। अभियानका क्रममा यसलाई वृद्धि गरी कम्तीमा ४० प्रतिशत पु¥याउने प्रदेश सरकारको योजना छ। प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्ने तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार