Wednesday, September 25, 2024

धानलाई पानी पुगेन्, उत्पादन घट्ने चिन्ता

महेन्द्रनगर । यतिवेला धानमा सिँचाई गर्ने समय हो । तर, पानी नपरेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित बनेका छन् । ढिलो गरी रोपाई सम्पन्न गरेका यहाँका किसान सिँचाई गर्ने समयमा पनि पानी नपरेपछी समस्यामा छन् । आकासेपानीको भरमा रहेका अधिकाँश किसान भदौ दोस्रो साता सुरु हुँदा समेत सिँचाई गर्न नपाएपछी धान उत्पादन घट्ने चिन्ता बढेको छ ।
सिँचाई अभावमा धानवालीमा घाँस उम्रेने र किराको प्रकोप देखिन थालेको किसानहरू बताउँछन् । सिँचाईको अभावमा खेतमा घास बढी उम्रिएको शुक्लाफाँटा नगरपालिका–४ का रोशन चौधरीले बताए । ‘पर्याप्त पानी नपरेका कारण यस वर्ष धान लगाएको खेतमा घास धेरै उम्रिएको छ,’ उनले भने,‘यस वर्ष खेतबारीमा लगाएको धान फस्टाउन सकेको छैन् ।’
पानी नपर्दा दोस्रो पटक छर्नुपर्ने रासायनिक मल छर्न नपाएको कृषक नरेन्दप्रसाद्र जोशीले बताए । ‘यस वर्ष धान उत्पादनमा ह्रास आउने संकेत देखिएको छ,’ उनले भने,‘अहिलेसम्म धानको खेतबारीमा मल र्छन पाएका छैनौं ।’ समयमै सिँचाई गर्न नपाउँदा यस वर्ष धान उत्पादन घट्ने चिन्ताले सताएको कृषक जोशीले बताए ।

‘यो वर्ष समयमा पानी नपर्दा रोपाई पनि ढिला भयो’उनले भने,‘अहिले सिँचाई गर्ने समयमा पनि पानी परिरहेको छैन् ।’ अकाशे पानीको भरमा खेती गर्ने किसानलाई समयमा पानी नपर्दा बढी समस्या भएको कृष्णपुर नगरपालिका–१ सुन्दरपुरका कृषक रामदास चौधरीले बताए । ‘कृष्णपुर नगरपालिका–१ का अधिकांश किसान आकासको पानीको भरमा खेती गर्दै आएका छन्,’ उनले भने,‘यस वर्ष पानी नपर्दा लगाएको धान सुक्न थालेको छ ।’

किसानका समस्यालाई सरकारले गम्भीर रुपमा नलिएको कृषक चौधरीको भनाई छ । ‘एकातिर किसानलाई पानी नपरेर सास्ती छ, अर्को तिर किसानले समयमा आवश्यक मल पाएका छैनन्,’ उनले भने,‘आकाशे पानीको भरमा खेती गर्नु नेपाली किसानको बाध्यता छ, यो समस्या समाधानका लागि सरकारले चासो दिएको छैन् ।’
सरकारसँग समयमै मल, बिउ र सिँचाईको माग किसानले गर्दै आएका पनि समस्या समाधान नभएको कृषक राजेन्द्र जोशीले बताए । मल अभावले दोस्रो पटक धानबारीमा छर्नुुपर्ने मल राख्न नपाइएका उनले बताए । ‘दोस्रो पटक मल राख्न नपाउँदा धान त्यति राम्रो भएको छैन्,’ उनले भने । पर्याप्त वर्षा नहुँदा खेतबारीमा रोपिएको धान फस्टाउन नसकेको किसानहरूको दुखेसो छ  ।
समयमै पानी नपरेपछी बर्षेवाली समेत प्रभावित भएको छ । सिँचाई सुविधा नभएका क्षेत्रमा धान सुक्ने तथा रोग किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले बताए । उनले यस वर्ष कञ्चनपुरमा धान उत्पादन घट्ने बताए । ‘सिँचाई सुविधा भएको क्षेत्रमा धान रोपाइँ पनि ढिला भयो,’ उनले भने,‘सिँचाईको समयमा पनि पानी परिरहेको छैन् ।’ अहिलेको समयमा अकाशे पानी नपरे धान खेतीमा नराम्रो असर पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख थापाले बताए ।
‘अहिलेसम्म धान खेतीका लागि आवश्यक पर्ने गरी पर्याप्त वर्षा भएको छैन’, उनले भने,’ ‘आकाशे पानी कम परेकाले धान उत्पादन धेरै हद्सम्म प्रभावित हुन्छ ।’ सुदूरपश्चिम प्रदेशमा रोपाइँ ढिला हुनु र सिँचाईको समयमा समेत पानी नपरेका कारण यस वर्ष धानको उत्पादन ह्रास आउने सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रबहादुर शर्माले बताए । ‘यस वर्ष धान उत्पादनका लागि आवश्यक पर्ने पानी परेको छैन्,’ उनले भने,‘सिँचाईको अभावमा खेतमा घास उम्रिने र किराको प्रकोप देखिन थालेको छ ।’

ताजा समाचार

सम्बन्धित समाचार