द्रुतमार्गको डीपीआर स्वीकृत, अब निर्माण प्रक्रिया अगाडि बढ्ने

काठमाडौँ– लामो विलम्वपछि अन्तत मन्त्रीपरिषदले तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ।

यस अगाडि नेपाली सेनाले डीपीआर मन्त्रीपरिषद् पठाए पनि प्राविधिक कारण देखाई प्रस्ताव ‘होल्ड’ गरिएको थियो। स्वीकृतिको लागि सेनाले बारम्बार सरकालाई आग्रह गरिरहेको थियो। हाकाहाकीसंग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे डीपीआर स्वीकृत भएको जानकारी दिए। उनले भने, ‘मन्त्रीपरिषदबाट डीपीआर र नेपाली सेनासँगको सम्झौता स्वीकृत भएको हो।’

कोरियाली कम्पनीले गत वर्ष माघ २० गते डीपीआरको अन्तिम प्रतिवेदन नेपाली सेनालाई बुझाएको थियो। सेनाले अन्तिम स्वीकृतिका लागि चैत ५ गते रक्षा मन्त्राललाई बुझाएको थियो। पेस गरिएको पाँच महिनापछि सरकारले डीपीआर स्वीकृत गरेको हो।

डीपीआर स्वीकृत भएपछि पुल निर्माणका लागि ठेकेदारहरू छनोटको प्रक्रिया अन्तिम चरणमा रहेको पाण्डेले बताए।दु्रतमार्गमा पुलको जम्मा सङ्ख्या ८७ वटा, तीनवटा सुरुङ र १६ वटा ‘हाइराइज ब्रिज’ अर्थात् आकासे पुलको निर्माण गरिनेछ । सेनाको प्रविधिक टोली त्यसको अन्तिम तयारीमा जुटेको उनले जानकारी दिए।

एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा निर्माण भइरहेको सो द्रुतमार्गमा महादेव डाँडा, धोद्रे डाँडा र लेन डाँडामा गरी तीनवटा सुरुङ मार्ग रहने प्रवक्ता पाण्डेले जनाए। ‘६ जना अन्तर्राष्ट्रिय ठेकेदारहरू छनोट भएका छन्,’ उनले भने, ‘त्यसबाट पनि हामी छनोट गर्छौ।’ उनका अनुसार पुल निर्माणका लागि टेण्डर लिन आवश्यक कागजातहरू पनि तयार भइरहेको छ।

सुरुङ निर्माणको लागि पनि आवश्यक कागजातहरू नेपाली सेनाले तयार गरिरहेको छ। सेप्टेम्बरको अन्तिमसम्म सुरुङ र पुलहरूको निर्माण प्रारम्भिक सतहको काम सक्ने योजनामा सेना रहेको उनले जानकारी दिए। उनले भने, ‘नेपाली सेनाले पहिलो द्रुतमार्ग परियोजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको छ।’

डिपिआर स्वीकृत नहुनुमा डिजाइन तयार नभएको समाचार उनले अस्वीकार गरे। नेपाली सेनाले तयार गरेको द्रुतमार्गको प्रस्तावित डिजाइनमा सरकारी विज्ञको टोलीले अध्ययन गरेका कारण डीपीआर स्वीकृतीमा समय लागेको उनले बताए। ‘सेनाको प्रस्तावित प्रतिवेदनमा ठेकेदारलाई जिम्मेवार बनाउनको लागि केही भाषाहरू परिर्वतन भएका छन्,’ उनले भने।

स्वीकृत डीपीआरअनुसार सडक निर्माणको लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्ने सेनाले अनुमान गरेको छ। पहिलेको डीपीआरमा लम्बाइ ७६ दशमलव दुई किलोमिटर थियो भने अब ७२ दशमलव पाँच किलोमिटर हुनेछ। डीपीआरअनुसार सुरुङको कुल लम्बाइ ६ दशमलव ४१ किलोमिटर हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार