बाढी र पहिरोबाट एक अर्ब भन्दा बढीको क्षति

काठमाडौँ– असार अन्तिम साता सक्रिय भएको मनसुनसँगैको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा एक अर्ब बढीको क्षति भएको छ।

बाढीपहिरो र डुबानले देशभरका ६७ जिल्ला प्रभावित भएका थिए। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको साउन १२ गतेसम्मको तथ्यांक अनुसार बाढी पहिरो तथा डुबानबाट रु एक अर्ब ७ करोड ६६ लाख ४८ हजार ५ सयको क्षति भएको छ।

केन्द्रको तथ्यांक अनुसार उक्त प्रकोपबाट एक सय १७ जनाको मृत्यु भएको छ। एक हजार ३८ परिवार प्रभावित भएका छन् भने एक सय ३५ घर आंशिक तथा एक सय १५ घर पूर्ण क्षति भएको छ। त्यस्तै ४८ गोठमा क्षति पुगेको र एक सय ६१ पशु चौपायाको मृत्यु भएको केन्द्रले जनाएको छ।

तराई मधेशमा मात्र होइन्, यस पटक पहाडी भेगमा पनि निकै ठूला पहिरोहरु गएका थिए। विशेषगरी पहाडी भागमा विकासका नाममा जथाभावी डोजर चलाइएका कारण पहिरोको प्रकोप बढेको छ। उसो त जलवायु परिवर्तनका कारण एक सिमित ठाउँमा ठूलो पानी पर्ने र त्यसले ठूलो क्षति पु–याउने क्रम पनि बढेको छ। उदाहरणका लागि गुल्मीको एक गाउँमा परेको भीषण पानी र त्यसपछि गएको भीषण पहिरोलाई लिन सकिन्छ।

बाढीबाट कति क्षति ?

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढीबाट मात्रै ६१ जनाको मृत्यु भएको छ। सात सय ५१ परिवार प्रभावित भएका छन्। ९६ घर आंशिक र १३ घरमा पूर्ण क्षति भएको छ। त्यस्तै १२ गोठमा क्षति भएको छ भने ८ चौपायाको मृत्यु भएको छ। बाढीबाट १ अर्ब २ करोड ९० लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

पहिरोबाट भएको क्षति

पहिरोमा परि ४७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ। पहिरोका कारण दुई सय २३ परिवार प्रभावित भएका छन्। १७ घर आंशिक र ७७ घर पूर्ण रुपले क्षति भएको केन्द्रको तथ्यांक छ। ३० गोठमा क्षति हुँदा एक सय ४३ चौपाया मरेका छन्। पहिरोका कारण तीन करोड ९४ लाख ७७ हजार रुपैयाँ बराबरको क्षति भएकोे छ।

त्यसैगरी भारी वर्षाका कारण ९ जनाको मृत्य भएको छ भने ६४ परिवार प्रभावित भएका छन्। केन्द्रका अनुसार १७ घर आंशिक तथा २५ वटा घर पूर्ण रुपले क्षति भएको छ। ६ गोठमा क्षति पुग्दा १० पशु चौपायाको मृत्यु भएको छ। भारी वर्षाका कारण ८० लाख ९० हजार पाँचसय रुपैयाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ। साउन १२ पछिको यकीन विवरण केन्द्रले सार्वजनिक गरेको छैन्। यद्यपी वर्षासँगै बाढीपहिरो भने रोकिएका छैनन्।

वर्षेनी बाढी र पहिरोको प्रकोप बढेपनि उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन गठन गर्ने भनिएको विपद् प्राधिकरण गर्ने गठन हुन सकेको छैन्। यति मात्र होइन् नेपाल भारत सिमानामा बनाइएका संरचनाका कारण नेपाली भूभाग डुवानमा पर्ने गरेको समस्या पनि समाधान तर्फ उन्मुख भएको छैन।

त्यसैगरी बाढी र पहिरोको जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ पनि सरकारी निकायले गम्भीर पहल लिएका छैनन्। मनसुनको समयमा यस विषयमा केही छलफल हुने गरेको भएपनि अर्काे मनसुनसम्म नआउँदासम्म यो विषयको चर्चा समेत हुने गरेको छैन् ।

ताजा समाचार

सम्बन्धित समाचार