त्रिशूली– पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ।
गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो। विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो।
डाइभर्सन बगाएपछि यातायात ठप्प भएको बताइएको छ।
गल्छी त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिले समस्या आएको हो । एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा भएको छैन्। गत वर्ष खोलाले पुरानो पुल भत्काएपछि डाइभर्सन राखेर यातायात सञ्चालन हुँदै आएको थियो।
डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ। रसुवाबाट काठमाडौँ आउनेजाने सवारीसाधान यहाँ रोकिएका छन्। रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ।





