काठमाडौँ– नेपाल भारत संयुक्त आयोगको बैठकमा बाढी र डुबानको एजेन्डालाई प्राथमिकतामा राखिने भएको छ।
संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय बिदेश मन्त्री एस जयशंकर बुधबार नेपाल आइपुगेका छन्। बुधबार र बिहीबार चल्ने भनिएको उक्त बैठकमा सीमा क्षेत्रमा भारतले बनाएको विभिन्न संरचनाको कारण नेपाली भूभाग डुबानमा परेको विषयलाई उठाइने सरकारी अधिकारीहरूले बताएका छन्।
यस अगाडि नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले सो एजेण्डलाई प्राथमिकताका साथ उठाउने बताएका थिए। यस अगाडि नै बाढी र डुबान हुने ठाउँहरूको समेत पहिचान भइसकेको छ।
बाँध लगायत अन्य भौतिक संरचनाका कारण नेपाली भू–भाग डुबानमा परेको समस्या समाधानका लागि दुवै देशको विभिन्न तहमा कुटनीतिक पहल भइरहेको ज्ञवालीले बताएका थिए। उक्त बैठक नेपाल भारत संयुक्त आयोगको पाँचाैँ बैठक हो। जसको सहअध्यक्षता परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय विदेश मन्त्री जयशंकरले गर्दैछन्। यस बाहेक व्यापार, जलस्रोत, सीमा व्यवस्थापन लगायतका विषयमा पनि सो वैठकमा छलफल हुने छ।
याे पनि पढ्नुहाेस
संयुक्त कमिशनको बैठकमा बाढी र डुबानको एजेण्डा उठाउछौँ : परराष्ट्रमन्त्री ज्ञवाली





