झापा– झापामा उत्पादन हुने पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीको पिएचको मात्र परीक्षण गरेको छ।
मङ्गलबार बिर्तामोडमा ‘पिउने पानीको गुणस्तरः अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशालास्थलमै विभिन्न २० ब्राण्डका पानीको नमूना सङ्कलन गरी पानीको नमूनाको पिएच परीक्षण गरिएको हो।
परीक्षणमा बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पिएचको मात्रा न्यून पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ।
बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुई बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पिएच परीक्षण गरिएको हो।
संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा उक्त परीक्षण गरिएको थियो। उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय, स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन्।
के हो पिएच?
पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पिएच भनिन्छ। नेपाल गुणस्तरले छ देखि आठ दशमलव पाँच पिएचसम्मको पानीलाई पिउन योग्य भनेको छ। तर, अन्तर्राष्ट्रिय गुणस्तरले छ दशमलव पाँचदेखि आठ दशमलव पाँच पिएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ। पानीमा सात पिएच सबैभन्दा उत्तम मानिन्छ । छ पिएचभन्दा तलको पानीलाई अम्लीय अर्थात् एसिडिक भनिन्छ।
आठ दशमलव पाँच पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ। नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतमभन्दा कम रहेको बताइन्छ।





