काठमाडौँ– स्वदेशमा उत्पादन हुने र विदेशबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणमा सरकार गम्भीर हुनुपर्नेमा प्रतिनिधिसभा सांसद प्रेम सुवालले जोड दिएका छन्।
मंगलबार प्रतिनिधिसभामा प्रस्तुत भएको ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ को छलफलका भाग लिदैँ सुवालले जनताको स्वास्थको जिम्मेवारी सरकारको रहेको भन्दै विषादी परीक्षणमा गम्भीर हुन सरकारलाई सुझाएका हुन्।
भन्सारमा नै परीक्षण गर्ने सरकारले निर्णय गरिसकेको भएतापनि भारतको राजदूतावासबाट पत्र आएर विषादी परीक्षण नभएको सार्वजनिक हुँदा पनि कृषीमन्त्री र प्रधानमन्त्री जानकार नभएकोमा उनले आपत्ति जनाए।
‘सरकारले मलाई थाहा छैन भन्न मिल्छ कि मिल्दैन? र त्यो निर्णय भन्दा अगाडि सरकारको योजना हुनुपर्छ कि पर्देन्?’ उनले प्रश्न गरे।
राजपत्रमा प्रकाशित भएको सूचना फिर्ता लिनुको करणको जवाफ उनले सरकारसँग माग गरे।
त्यस्तै, सांसद पुष्पा भुसालले कार्यान्वयनका लागि पर्यप्त योजना नभएको भन्दै प्रस्तावित विधेयकमा पुन: विचार गर्नुपर्ने आवश्यकता रहेको बताइन्।





