लोकन्थली पहिरोः तीन घर खाली गराइयो

भक्तपुर– भक्तपुरको लोकन्थलीमा पानीको ट्यांकी खन्नेक्रममा पहिरो गएपछि जोखिममा परेका तीन घर खाली गराइएको छ।

सोमबार राति परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको थियो। जोखिममा परेका घरका मानिसलाई अन्यत्र सारिएको भक्तपुर जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक रेवती रमन पोखरेलले जानकारी दिए।

पानी ट्यांकी बनाउने भनेर खनिएको ठाउँबाट पहिरो गएको हो। पानी ट्यांकी निर्माणमा सावधानी नअपनाउँदा पहिरो गएको र घरहरु जोखिममा परेको पोखरेलले बताए।

घर भत्किने सम्भावनालाई कम गर्न पर्खाल निर्माणको काम भइरहेको पोखरेलको भनाइ छ। पहिरोले पैदल हिँड्ने बाटोसमेत अवरुद्ध पारेको छ।

उद्धारको लागि नेपाल प्रहरी, शस्त्र प्रहरी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधिलगायत स्थानीयहरू घटना स्थलमा रहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार